July 27, 2024, Saturday
KN hd tv

नेकपा विवादः केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकका लागि हस्ताक्षर अभियान सञ्चालन

काठमाडौं – सत्तारुढ दल नेकपाको आन्तरिक विवाद समाधान गर्न दुई अध्यक्ष, सचिवालय बैठक र स्थायी कमिटीको बैठकले नसक्ने देखिएपछि केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका छन्। मंगलबार बस्ने स्थायी कमिटीले पनि अहिलेको विवादलाई निकास नदिने संकेत देखिएपछि केन्द्रीय सदस्यहरुले विधान बमोजिम १सय २५ जनाको हस्ताक्षर संकलन गरेका हुन्।

विधान अनुसार केन्द्रीय कमिटी बैठकका लागि १ सय १२ जना आवश्यक पर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पद छाड्नु पर्ने भन्दै पार्टीभित्र विवाद बढेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित बहुमत सचिवालय सदस्यहरुले दुई मध्ये एक पद छाड्न ओलीलाई दवाब दिएका छन्।

तर ओलीले दुवै पद नछाड्ने र त्यस बाहेक अन्य विषयमा मात्रै छलफल गर्ने जनाएपछि असार १० देखि शुरु भएको स्थायी कमिटी बैठकले समेत त्यसलाई निकास दिन सकेको छैन। बैठकले निकास दिन नसकेपछि दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग राख्ने प्रयोजनले हस्ताक्षर संकलन गरेको स्रोतले जनाएको छ। संकलित हस्ताक्षर विवरण डा. विजय पौडेलसँग रहेको स्रोतले जनाएको छ।

‘स्थायी कमिटी बैठकले निकास दिन सक्दैन, सचिवालयमा रहेका नेताहरुले पनि निकास दिन सकेनन अब केन्द्रीय कमिटी बैठकले निकास दिनेछ’,बैठकको माग गर्ने मध्येका एक सदस्यले भने। उनका अनुसार १३ गते बैठकले कुनै निकास दिएन भने केन्द्रीय कमिटीको बैठक माग गर्दै हस्ताक्षर बुझाइनेछ।

पार्टीलाई विधान र पद्धतिअनुसार चलाउन माग गर्दै उनीहरुले केन्द्रीय कमिटी बैठकमार्फत अहिलेको समस्या हल गर्न आग्रह गरेका छन्। उनीहरुले असारको तेस्रो साता नै हस्ताक्षर गरेको भएपनि बाहिर ल्याएका छैनन। केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, हिमाल शर्मा, कृष्ण केसीलगायतले हस्ताक्षर अभियानको नेतृत्व लिएका छन्।

नेकपाको विधानमा ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने उल्लेख छ।

शीर्ष समाचार

धेरै पढिएको