July 26, 2024, Friday
KN hd tv

धरानबाट पक्राउ परे भूपेन्द्र बडुवाल हत्याका आरोपी युवक

कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लम्कीचुहा-१ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन्। शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको हो।

आइतबार बेलुका शाही धरान विजयपुरबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

शाहीलाई कैलालीतर्फ पठाइएको इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

शाही सुनसरी आएको सूचना प्रहरीलाई आएको थियो। पछ्याउँदै जाँदा शाही विजयपुरमा पक्राउ परेको खड्काले बताए।

बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो।

हत्या गरेको आरोपमा १६ जनाविरूद्ध किटानी जाहेरी परेको छ। जाहेरी परेकामध्ये शाहीसहित सात जना फरार थिए।

टीकापुर हत्याको दुई साता नाघ्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन।

शाहीसहित बडुवाल हत्याका १० आरोपी पक्राउ परेका छन्। अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यद्यपि, कैलाली प्रहरीले भने आधिकारिक रूपमा जानकारी दिन मानेको छैन।

शीर्ष समाचार

धेरै पढिएको