July 27, 2024, Saturday
KN hd tv

किसानलाई बीउ निःशुल्क

बुटवल — किसानलाई हिउँदे बालीप्रति आकर्षण बढाउन रूपन्देहीको सैनामैना नगरपालिकाले बीउ वितरण थालेको छ । वैदेशिक रोजगारीबाट फर्केका ३२ किसानलाई निःशुल्क बीउ र मल दिइएको हो । 

उनीहरूले १५/१५ कट्ठामा मसुरो खेती गरेका छन् भने ५ कट्ठामा लसुन लगाएका छन् । आठ जनाले प्याज खेतीको तयारी गरेका छन् । ‘कोभिडको बेथा सहेर फर्केका युवा फेरि मुलुकबाहिर जान नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ सैनामैनाका नगरप्रमुख चित्रबहादुर केसीले भने, ‘आफ्नो जमिन बाँझो हुने तर रोजगारी खोज्दै बाहिर जाने समस्या रोक्न इच्छाअनुसारका खेतीमा अनुदान दिएका हौं ।’

अन्नबालीमा निर्भर किसानलाई छिटो नगद आम्दानी हुने हिउँदे बालीतर्फ आकर्षित गर्न अन्य किसानलाई पनि बीउ वितरण गरेको उनले जनाए । धान रोपेर खाली रहने खेत उपयोग गर्न नगरपालिकाले किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा उन्नत बीउ वितरण थालेको छ । किसान समूहमार्फत तोरी, गहुँ, मसुरो, आलु, च्याउ र हिउँदे तरकारीको बीउ वितरण गरेको हो । यसबाट करिब ५ हजार किसान लाभान्वित भएको कृषि शाखा प्रमुख सिर्जना सुवेदीले बताइन् । उनका अनुसार ७० क्विन्टल एनएल ९७१ र गौतम जातको गहुँको बीउ वितरण भएको छ ।

एक कट्ठा खेतका लागि चार किलो बीउ आवश्यक पर्छ । नगरपालिकाले रामपुर लोकल, विकास र प्रगति जातको सात क्विन्टल तोरीको बीउ बाँडेको छ । खजुरा १ नामको ९ क्विन्टल मसुरोको बीउ वितरण गरेको छ । १९ क्विन्टल टीपीएस पहिलो पुस्ता २५० नामको आलुको बीउ किसानलाई दिएको छ । किसान समूह, कृषि सहकारी र कृषि फार्ममार्फत बीउ बाँडिएको हो । सैनामैनामा १ सय ५० किसान समूह छन् । १५ वटा कृषि सहकारी र ५५ वटा कृषि फार्म छन् ।

शीर्ष समाचार

धेरै पढिएको