November 21, 2024, Thursday
KN hd tv

भदौदेखि नेशनल पेमेन्ट गेटवे सञ्चालन हुने

काठमाण्डौ – आउँदो भदौदेखि नेशनल पेमेन्ट गेटवे सञ्चालनमा आउने भएको छ । सरकारले लिने भुक्तानी र सरकारले दिने भुक्तानीसँगै छरिएर रहेका निजी वालेट तथा कार्डको कारोबार, अन्तर्राष्ट्रिय भुक्तानीका क्षेत्रसमेतलाई समेत एउटै पेमेन्ट गेटवेमा समेटिने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलका अनुसार पेमेन्ट गेटवे सञ्चालमा ल्याउन आवश्यक अन्तर्राष्ट्रियस्तरको मापदण्डमा पूर्वाधार तयार भइसकेको छ । सरकारले गर्ने खर्च, जनतालाई दिने सामाजिक सुरक्षा र निजी क्षेत्रलाई दिनुपर्ने भुक्तानी अब एकद्वार प्रणालीमा ल्याइनेछ ।  

नेशनल पेमेन्ट गेटवे सरकारी तथा गैरसरकारी निकाय, उद्योगी, व्यापारी, आयातकर्ता–निर्यातकर्तादेखि उपभोक्तासम्मले प्रतिक्षा गरेको विषय हो । यस विषयमा प्रविधि पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको वेबिनार (इन्टरको सहायतामा गरिने सेमिनार) कार्यक्रममा पौडेलले पेमेन्ट गेटवेको तयारीका बारेमा बताउनुभएको हो । 

‘महालेखा परीक्षकको कार्यालयले बनाइरहेको प्रणाली साउनदेखि सञ्चालनमा आयो भने लगत्तै त्यसलाई एकीकृत गरी नेशनल पेमेन्ट गेटवे सञ्चालनमा आउनेछ’, पौडेलले भन्नुभयो । महालेखाले सञ्चालमा ल्याएको महिना दिनमै पेमेन्ट गेटवे सञ्चालनमा आउने उहाँको भनाइ थियो । 

यसबाट रियल टाइममा पेमेन्ट हुने पेमेन्ट र वास्तविक आम्दानी खर्चको जानकारीसमेत तत्काल थाहा पाउन सकिने भएकाले उपभोक्ताको समय बचत हुनुका साथै झन्झटबाट समेत छुटकारा पाइनेछ । पैसासँग सरोकार भएकाले यसमा थप सुरक्षाको प्रत्याभूति गर्नुपर्ने भन्दै उहाँले त्यसतर्फ राष्ट्रिय सूचना प्रविधि केन्द्र चनाखो रहेकोे बताउनुभयो । 

अहिले बनेको प्रणालीबाट एक सेकेण्डमा एक हजार वटा कारोबार गर्न सकिन्छ । पछि आवश्यकताअनुसार बढाउँदै लैजान सकिने किसिमको प्रणाली तयार भएको छ । 

शीर्ष समाचार

धेरै पढिएको