बुटवल उपमहानगरमा सबैलाई निःशुल्क कोरोना परीक्षण शुरु
रुपन्देही – समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आंकलन गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकामा टोलटोलमा निःशुल्क परीक्षण शुरु गरिएको छ ।
सोमबारदेखि मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए । यस्तोे परीक्षणबाट पनि केही संक्रमित भेटिएकाले यसलाई थप बिस्तार गरिने उनको भनाइ छ ।
मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ । बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण हस्टस्पट क्षेत्र पहिचान गरी एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो । यो परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ ।
महामारीविरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदायस्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख सुवेदीले स्वास्थ्य मापदण्ड र स्वनियममा बस्न आग्रह गरेका छन् ।
जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताए ।
मनोबल उच्च राख्न उनले आग्रह गरेका छन् । स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।
प्रतिकृया दिनुहोस्