July 26, 2024, Friday
KN hd tv

केही दिन बोल्नसमेत बन्द गरेर महामारीमा केन्द्रित भइदिनुस्: गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सम्पूर्ण ध्यान जारी कोरोना महामारीविरुद्धको युद्धमा लगाउन अनुरोध गरेका छन्। 

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दैै प्रधानमन्त्री ओलीलाई केही दिनका लागि पार्टी भित्रको विवाद मिलाउने र चर्काउने काम छाडिदिन पनि आग्रह गरेका छन्। 

‘अब केही दिन, मात्र केही दिन, छाडिदिनुहोस् पार्टी भित्रको विवाद मिलाउन वा चर्काउन, फकाउन, फुटाउन सबै कुरा छाडिदिनुहोस्,’ थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। 

नेता थापाले प्रधानमन्त्रीमा पुनःनियुक्तिसँगै कोरोना महामारीविरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारी फेरि पनि ओलीको काँधमा आएको समेत बताएका छन्। पुनःनियुक्ति पाएका प्रधानमन्त्रीले अब कोरोना महामारीसँग जुध्नका लागि साँच्चिकै प्रयत्न गरेर लाग्नुपर्ने थापाको भनाइ छ। 

‘यो महामारीबाट हामीले धेरै जीवन गुमाइ सकेका छौं। अझ कति गुमाउने हो थाहा छैन। यीमध्ये धेरैलाई बचाउन सकिन्थ्यो। अझै पनि बचाउन सकिन्छ,’ थापाले भनेका छन्, ‘तर, कामनाले मात्रै यो सम्भव छैन, काम चाहिएको छ। प्रार्थनाले मात्रै सम्भव छैन, तपाईं हाम्रो प्रयत्न चाहिएको छ।’

नेता थापाले केही दिनका लागि बोल्न समेत छाडिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। ‘केही दिनलाई सभा, सम्मेलन, भेटघाट, उद्घाटन, शिलान्यास सबै रोकिदिनुहोस्,’ थापाले भनेका छन्, ‘केही दिनलाई बोल्न बन्द गरिदिनुहोस्, यथार्थलाई स्वीकार गर्नुहोस्, अनि तपाईंको मन, ध्यान, तपाईंको सम्पूर्ण शक्ति, तपाईंको समय, सम्पूर्ण, शतप्रतिशत यही महामारीविरुद्धको युद्धमा लगाउनुहोस्।’ 

प्रधानमन्त्री ओलीका विचार र व्यवहार तथा वचन र कर्मप्रति आफ्ना पनि थुप्रै असन्तुष्टि रहेको उल्लेख गर्दै थापाले कोरोनाविरुद्धको युद्धमा लाग्नका लागि आफू आफ्ना असहमतिहरुलाई थाती राख्न तयार रहेको बताएका छन्। 

‘प्रधानमन्त्री ज्यू मेरो तपाईंसँग थुप्रै असहमतिहरु छन्, तपाईंको विचार र व्यवहारप्रति मेरा थुप्रै प्रश्नहरु छन्, तपाईंको वचन र कर्मप्रति मेरा थुप्रै असन्तुष्टिहरु छन्, तर केही दिन यी असन्तुष्टि, असहमति, यी प्रश्नहरु सबैलाई थाती राख्नका लागि म तयार छु, हामीहरु तयार छौं,’ थापाले भनेका छन्।

कोरोना महामारीसँग जुधीरहेका जनताको जीवन जोगाउन इमान्दारितापूर्वक लागेमा आफू र आफूजस्तै धेरे व्यक्ति पनि प्रधानमन्त्री ओलीलाई सहयोग गर्न तयार रहेको पनि थापाको भनाइ छ।

‘तपाईंका समर्थक सबै सधैं तपाईंसँगै छन्। तर, तपाईं इमान्दारितापूर्वक यो महामारीसँग जुधीरहेका नेपाली जनताको जीवन जोगाउनका लागि लाग्ने हो भने म र मजस्ता कयैनलाई नदीघरको किनारामा हैन, तपाईंसँगै उभिएको पाउनुहुनेछ, तपाईंलाई मद्दत गरिरहेको पाउनुहुनेछ, तपाईंको सरकारलाई सफल बनाउनका निम्ति लागिरहेको पाउनुहुनेछ,’ थापाले भनेका छन्।  

प्रधानमन्त्री ओलीले फेरि एकपटक मौका पाइएको उल्लेख गर्दै नेता थापाले यो मौकालाई खेर नफाल्न पनि आग्रह गरेका छन्। 

शीर्ष समाचार

धेरै पढिएको