July 26, 2024, Friday
KN hd tv

म आज १४ वर्षअघिको विपना महशुस गरे: विपना थापा

अभिनेत्री विपना थापा करीब एक दशकदेखि सक्रिय अभिनय जीवनबाट टाढा छिन् । भारतीय मुलका व्यक्तिसँग विवाह गरेपछि नेपाली फिल्मसँग दूरी बनाएकी उनी नेपाल भने आइरहेकी हुन्छिन् । एक छोराकी आमा समेत भइसकेकी उनी यसै साता नेफ्टा फिल्म अवार्डमा सहभागी हुन नेपाल आएकी थिइन् । 

विवाहपछि नेपालमा आयोजना हुने कुनै अवार्ड कार्यक्रममा उनी सहभागी हुन पाएकी थिइनन् । आयोजकहरुले पनि उनलाई सम्झने गरेका थिइनन् । नेफ्टा अवार्ड आयोजक संस्था चलचित्र प्राविधिक संघले उनलाई एक महिना अगाडिदेखि नै सम्पर्क गरेर नेपाल बोलाएको हो । शनिवार पाँचतारे होटल सोल्टीमा भएको अवार्ड कार्यक्रममा पुग्दा उनी नर्भस र भावुक भएकी थिइन् ।

अवार्ड समारोहमा उद्घोषकको रुपमा रहेकी माल्भिका सुब्बाले वर्षौंपछि विपना थापासँग साक्षात्कार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनको भनाई जान्न खोजिन् । तर, माइक समात्न नपाउँदै विपनाले आँशु थाम्न सकिनन् । उनी शब्दविहीन भइन् । १४ वर्षपछि अवार्ड कार्यक्रममा सहभागी भएर फिल्म इन्डस्ट्रीको परिवारसँग भेट्न पाउँदा आफूसँग खुसीको सीमा नरहेको उनले बताइन् ।

गहभरि आँसु पार्दै उनले भनिन्, ‘म नेपालमा नभएर पनि होला । त्यसैले कसैमाथि आरोप लगाउन चाहन्नँ । तर, आजसम्म फिल्म इन्डस्ट्रीको एउटा कार्यक्रममा पनि मलाई बोलाइएको थिएनन् । म १११ वटा फिल्ममा काम गरेको हिरोइन हुँ । तर, १४ वर्षसम्म कसैले मलाई सम्झिएनन् । नेफ्टाले एक महिना अगाडिदेखि बोलाएपछि स्वास्थ्य राम्रो नहुँदा नहुँदै पनि आएँ । एकदमै खुसी छु ।’ वर्षौंपछि फिल्मी माहोलमा सहभागी हुन पाउँदा आफू विगतमा फर्किएको उनले बताइन् ।

अवार्ड कार्यक्रमबाट बाहिरिँदै गर्दा विपनाले मिडियासँग भनिन्, ‘म आज १४ वर्षअघिको विपना महशुस गरिरहेको छु । मलाई दर्शकहरुले निकै माया गर्नुहुन्छ । फिल्म इन्डस्ट्रीका धेरै जनासँग मेरो सामाजिक सञ्जालमा कुरा भइरहेको हुन्छ । सबैले आज पनि मलाई उतिक्कै माया गर्नुहुन्छ ।’ उनले अब आफू कमब्याकको तयारीमा रहेको बताएकी छन् । गत वर्ष केही फिल्ममा काम गर्ने सहमति भए पनि कोरोनाले रोकिएको उनको भनाई छ ।

उनी भन्छिन्, ‘आउँदो अक्टोबर वा नोभेम्बरतिर फिल्म गर्छु होला । भविष्यमा फिल्म बनाउन पनि सक्छ तर तत्काल अभिनयलाई नै निरन्तरता दिनेछु ।’ हालै एक सर्जरी गरेका कारण आफू केही मोटाएको उनले बताइन् । 

शीर्ष समाचार

धेरै पढिएको