July 27, 2024, Saturday
KN hd tv

प्रजातन्त्र दिवसमा ३ दिन दीपावली गर्न सरकारको आह्वान

काठमाडौं- प्रजातन्त्र दिवसका अवसरमा तीन दिनसम्म दीपावली गर्न सरकारले आह्वान गरेको छ। प्रजातन्त्र दिवसका अवसरमा फागुन ६, ७ र ८ गते दीपावली गर्न सरकारले आह्वान गरेको हो।

विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गर्ने र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ प्रजातन्त्र दिवस मनाउन लागिएको हो।

गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो। बैठकले फागुन ६, ७ र ८ गते दीपावलीसहित विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने प्रस्ताव अनुमोदन गरेको थियो।

समितिले अनुमोदन गरेअनुसार बिहीबारदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो। फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो भने विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो। यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ।

दोस्रो संविधान सभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ। सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ। दिवसलाई भव्य बनाउन सरकारी एवं गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना हुने जनाइएको छ।

शीर्ष समाचार

धेरै पढिएको