July 27, 2024, Saturday
KN hd tv

एकताका तयारी गर्दै संसदीय व्यवस्था नमान्ने चार कम्युनिस्ट पार्टी

काठमाडौं- संसदीय व्यवस्था नमान्ने चार कम्युनिस्ट पार्टीले आन्दोलनको मोर्चा बनाएपछि दीर्घकालीन रुपमा एकता गर्ने तयारी गरेका छन्। यसरी रणनीतिक मोर्चा बनाउनेमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेकपा रहेका छन्। बिहीबार काठमाडौंको प्रज्ञा भवनमा चार पार्टीका नेता कार्यकर्ताकाबीच रणनीतिक संयुक्त मोर्चाको घोषणा भइसकेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि संसद बाहिर भएका चार पार्टीले संसदीय व्यवस्था असफल भएको ठहर गर्दै रणनीतिक मोर्चा बनाउने तहमा पुगेका हुन्। प्रतिनिधि सभा विघटनपछि सत्ताधारी नेकपा संसद पुनर्स्थापना गर्ने वा नगर्ने विषयमा सडक संघर्षमा गएपछि चार कम्युनिस्ट पार्टी संयुक्त मोर्चा बनाउन भेटघाट र छलफललाई तिब्रता दिएका हुन्।

संयुक्त रणनीतिक मोर्चा बनाउने विषयमा वैद्यले विप्लवलाई भूमिगत रुपमा भेटेपछि सम्भव भएको क्रान्तिकारी माओवादी एक नेताले बताए। ‘विप्लव कमरेडहरु प्रतिबन्ध तोडेर शान्तिपूर्ण मुलधारको संघर्षमा आउँन इच्छुक हुनुहुन्छ। यता संसद बाहिर भएका वैद्य, आहुति, कट्टेलको अवस्था उस्तै हो’ ती नेताले भने, ‘यस्तो संकटपूर्ण अवस्थामा लामो छलफल र बहसपछि रणनीति मोर्चा हुँदै एकतामा जानेगरी सहमति भयो।’

त्यसपछि मात्रै चार पार्टीको लामो बहस छलफलपछि गएको पुस १४ गते रणनीतिक मोर्चा बनाउने सहमति गरेका थिए। रणनीतिक मोर्चा बनाउने सहमति भए लगत्तै माघ १ गते चारै पार्टीले हस्ताक्षर गरी विप्लव नेतृत्वको नेकपा नेता धमेन्द्र बास्तोललाई पक्राउ गरेकोमा आपत्ति जनाए।

रणनीतिक मोर्चा बनाउने घोषणापछि संयुक्त मोर्चाको पहिलो चरणका संघर्षका कार्यक्रममा जनसभा र विरोध पदर्शन गर्ने भएका छन्। चारै पार्टीले पहिलो आमसभा फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा र फागुन १८ गते इटहरीमा गर्ने भएका छन्। चारै पार्टीका नेता/कार्यकर्ता उपस्थित गराएर सरकारले गरेका नराम्रा कामको भण्डाफोरसँगै संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादका विषयमा नेताहरु आमजनतासमक्ष राख्ने तयारी गरेका छन्।

बिहीबार राण्नीतिक मोर्चा घोषणा कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले संयुक्त मोर्चा बनाउन निक्कै मिहिनेत गरेको बताउँदै आफू निक्कै खुशी भएको बताए। संसदीय व्यवस्था पूर्ण रुपमा असफल भई कामै गर्न नसक्ने अवस्थामा पुगेको वैद्यले दाबी गरे। ‘ओलीजीले प्रतिनिधि सभा विघटन गरेर मात्रै होइन। पुरै संसदीय व्यवस्था असफल भइसक्यो। अब संसदीय व्यवस्थाले काम गर्न सक्दैन’ वैद्यले भने, ‘उहाँ (केपी ओली)ले समाजवाद भन्ने समृद्ध नेपाल र सुखी नेपालीको कुरा गर्ने, सिरानी हाल्ने साम्रज्यवादी उदारवाद। यस्तो ढाँट कुरा कदापि टिक्दैन।’ 

रणनीतिक मोर्चा घोषणा कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले रणनीतिक मोर्चालाई सामान्य रुपमा नलिन नेता कार्यकर्तालाई आग्रह गरे।‘हामीले यसअघि बनाएका संयुक्त मोर्चा जस्तो होइन। यो रणनीतिक मोर्चा हो।

शीर्ष समाचार

धेरै पढिएको