October 27, 2024, Sunday
KN hd tv

स्थायी कमिटी बैठक: ओली-प्रचण्ड सहमतिको प्रस्ताव पारित गरेर आजै सक्ने तयारी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी दिए। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रस्तावमा आजको बैठकमा छलफल हुनेछ। असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठकमा ओलीको राजीनामाको बिषयले प्रवेश पाएपछि विवाद चर्किएको थियो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले त्यही प्रतिवेदनलाई केही संशोधनसहित स्थायी कमिटीमा पेस गर्नका लागि सहमति प्रस्ताव तयार पारेका छन्।

प्रतिवेदनमा प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री र अध्यक्ष दाहालले एकता महाधिवेशनसम्म पार्टीका सबै अधिकार सम्हाल्ने उल्लेख गरिएको छ। नेकपाभित्र दुई अध्यक्षहरू क्रमशः ओली र दाहालको अधिकार स्पष्ट नभएका कारण विवाद निम्तिने गरेको छ।  प्रस्तावमा पार्टी एकतालाई महत्वका साथ आत्मसाथ गर्ने, पार्टीलाई पद्धती र संस्थागत तुल्याउने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठानिक क्षेत्रहरुमा प्रभावकारी रुपमा चलाउने, केन्द्रीय कमिटीको निर्णय अनुसार चैतमा पार्टीको एकता महाधिवेशन गर्ने, सरकारको कामको समीक्षा गर्दै प्रभावकारी बनाउनुपर्ने, संसदीय दललाई सशक्त बनाउने प्रस्ताव गरिएको छ।  

यस्तै, प्रदेश र स्थानीय निकाय सरकारको भूमिका प्रभावकारी बनाउने, नेपालका सिमा समस्या समाधान गर्ने, कोरोना भाइरस रोकथाम, न्यूनीकरण, उपचार र आर्थिक पुनःस्थापना गराउने, बाढी पहिरोबाट सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाको बाँकी काम सम्पन्‍न गर्ने, प्रतिष्ठानको व्यवस्थापन र सञ्चालनको विधि निश्चित गर्ने तथा अमेरिकी परियोजना एमसिसीको बिषयमा आवश्यक छलफल गरेर अघि बढ्ने कुरा सहमतिको प्रस्तावमा उल्लेख छ।

दुई अध्यक्षले पार्टी र सरकारमा बाँकी रहेका विषय प्याकेजमै टुङ्ग्याएर अघि बढ्ने रणनीति बनाएका छन्।

शीर्ष समाचार

धेरै पढिएको