August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौँ- काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ। पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत हिमपात भएको हो।

तराईका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भई विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शनिबार काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातभर पनि ठाउँठाउँमा हिमपात र वर्षा हुनेछ। आइतबारबाट भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताइन्। 

अहिले बागमती र प्रदेश नं १ मा सामान्य बदली छ। गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली छ। बागमती र गण्डकीको केही क्षेत्रमा वर्षा पनि भइरहेको शाक्यले जानकारी दिइन्।

सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुका आसपास क्षेत्रमा वर्षा पनि भएको छ। त्यहाँका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भएको छ। मुख्यगरी हिमाली क्षेत्रसँगै प्रदश १, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा हिमपात राती पनि जारी हुने बताइएको छ।

अहिले मुलुकको पश्चिम क्षेत्रमा खुलेको र बागमती प्रदेशमा रातीबाटै खुल्दै जाने र बिहान मौसम सफा हुने जनाइएको छ।

आइतबार सीमित पहाडी भू-भागमा आंशिक मात्रै बदली रहने अनुमान गरिएको छ। आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात तथा प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

शीर्ष समाचार

धेरै पढिएको