August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

पाँच वर्षपछि सुरु भयो ‘दरबार हाइस्कुल’मा पठनपाठन

काठमाडौं- पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित् ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ। भूकम्प गएको पाँच वर्षपछि आजदेखि शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा पठनपाठन सुरु गरिएको हो।  

गोर्खा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन। नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।

कारोनाकै कारण लामो समय विद्यालयका विद्यार्थी र शिक्षकले अनलाइनको माध्यमबाट नै पठनपाठन अघि बढाएका थिए। एक हप्ताअघि नै काठमाडौं महानगरपालिकाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको काठमाडौं– २७ का सदस्य परिवेशमान बज्राचार्यले बताए।

निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी सङ्ख्या पुगेको छ। भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन्। यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए।     

नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ। पुनःनिर्माणपछि विद्यालयमा प्रतिकक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो। हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः ६ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो। क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ।

नयाँ भवनमा प्रयोशाला समेतको सुविधा र अङ्ग्रेजीमा ध्यममा पढाइ हुने गरेको छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन्।

रु ८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ।   -शर्मिला पाठक 

शीर्ष समाचार

धेरै पढिएको