August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

कोरोना भ्याक्सिन किन्न दातासँग गुहार

काठमाडौँ – कोरोना भ्याक्सिन किन्न दातासँग गुहारसरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि दाताहरुसँग सहयोग मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै जोखिम क्षेत्रमा काम गर्नेहरुका लागि खोप खरिद गर्न सहयोग माग गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप कोषमा योगदान गर्न सार्वजनिक सूचना नै जारी गरेका हुन् ।

‘खोपहरुको खरिदलाई प्राथमिकतामा राखेर कोभिड–१९ को खोप लगाउन पहिचान भएका लक्षित वर्ग तोकेर आवश्यक कार्यहरु गरिरहेको छ । यसरी निःशुल्क खोप लगाउने अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यथासम्भव सबै विधि र प्रक्रियाहरुलाई अवलम्बन गर्दै अहोरात्र जुटिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सहयोगी हातहरु र मनहरुले कोभिड खोपका लागि सहयोग गर्ने औपचारिक रुपमा इच्छा गरिरहेको पाइएकाले उक्त सूचनामा भनिएअनुसार तोकिएको बैंक खातामा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायकि एवं सामाजिक र परोपकारी संघ संस्थाबाट जोहो हुन गएमा हालको खोप अभियान सञ्चालनका अतिरिक्त सरकारले सञ्चालन गरिरहेका विभिन्न १२ वटा खोपहरुको अभियानहरु र भोलीका दिनमा थप गर्नुपर्ने खोपहरुका अभियानहरुमा समेत सहजीकरण हुनेछ भन्ने अपेक्षा राखिएको छ ।’

छिमेकी मुलुक भारतमा कोरोना खोप लगाउन सुरु भएपनि नेपालमा भने सरकारले खरिदका लागि दातृ निकायहरुसँग गुहार मागिरहेको छ । सरकारले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सकेको छैन् । गत माघ १ गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत भ्रमणका क्रममा कोरोना खोप दिने आश्वासन पाएको बताए । तर, भारतले नेपाललाई कति मात्रामा खोप दिने भन्ने खुलाएको छैन् ।

भारतीय पक्षले नेपाललाई खोप दिने मौखिक आश्वासन दिए पनि नेपालबाट त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छैन् । यता संसद विघटन गरेर मध्यावधी निर्वाचनमा जुटेको सरकारले कोरोना खोप खरिदका लागि भने दातृ निकायसँग गुहार माग्नुलाई आश्चर्यको रुपमा लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनमा जाने घोषणा गरेसँगै निर्वाचन आयोगले पनि चुनावको तयारी थालेको छ । आयोगले आइतबार विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको थियो । निर्वाचन घोषणा भएपछि आफ्नो पक्षबाट हुँदै आएको तयारी र भइरहेका कामबारे आयोगले राजनीतिक दलका प्रतिनिधिलाई जानकारी गराएको हो ।

आयोगमा भएको छलफलमा संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४७ मा भएको व्यवस्थाअनुसार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर मतदाता अद्यावधिक कार्यक्रम र तयारीबारे अवगत गराएको थियो ।

त्यस्तै आयोगले मतदान केन्द्रहरुको टुंगो लगाउन पनि जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ । त्यस्तै आयोगले चुनावका क्रममा लाग्ने खर्चमा विवरणसमेत सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान आयोगको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । सरकारले चुनावका लागि आवश्यक पर्ने केही बजेट दातृ निकायसँग सहयाेग माग्ने र बाँकी सरकारको कोषबाट विनियोजन गर्ने तयारी गरेको छ । यस विषयमा अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालसँग थप जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनमा भन्दा खर्च केही बढ्ने अनुमान गरेको छ । निर्वाचन प्रयोजनका लागि पन्जा, सेनिटाइजर, थर्मल गन, स्प्रेलगायतका कतिपय थप सामग्री खरिद गर्नुपर्ने आयोगका प्रवक्ताको भनाई छ ।

त्यस्तै आयोगले मतपत्र छपाइका लागि विगतको जस्तै कागज प्रयोग गर्ने कि त्योभन्दा अझ राम्रो गुणस्तरको कागज र मसी प्रयोग गर्ने भन्ने विषयमासमेत छलफल गरिरहेको छ । कोरोना संक्रमणबाट बचेर गुणस्तरीय सामाग्री प्रयोग गरेमा अझै खर्च बढ्ने आयोगको अनुमान छ । त्यस्तै कोरोनाका कारणले विदेशबाट ल्याउनुपर्ने सामानको भाउ बढेकाले चुनावी खर्च थप बढ्ने आयोगले आँकलन गरेको छ ।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो ।

श्रेष्ठले आयोगले निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण र पुनरावलोकन कार्यक्रमबारे छलफलका क्रममा दलहरूलाई जानकारी गराएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको