April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

अन्तर्लौकिक लोकतान्त्रिक साम्यवादको घोषणा–पत्र !

डा. बलदेवरगाउँले बलदेव

काठमाडौँ – विश्वमा प्रचलित राजनीति निश्चित अहंकारीहरूको अहंकारपूर्तिमा आधारित थियोस छ र भइरहनेछ । भौतिकवादी स्वार्थी शासकहरूका लागि सीमा बनेका छन् । अनेक नामका देश बनेका छन् । नयाँ–नयाँ देश बन्ने र लोप हुने क्रम चलिरहन्छ । शासितहरू जहाँ बस्दा जीविका चल्छ, त्यहीँ बस्न चाहन्छन् । सर्वसाधारण शासितहरूलाई विश्व नै एउटा देश भइदेओस् जस्तो लाग्छ । तर स्वार्थी शासकहरू उनीहरूलाई आफ्नो अधीनस्थ दास बनाउन चाहन्छन् । देशका लागि मार्न र मर्न सिकाउँछन् । सर्वसाधारणलाई भिडाएर आफू राज गर्न चाहन्छन् । चराहरूले विनाप्रवेशाज्ञा विश्वभ्रमण गर्न पाउँछन् । तर मनुष्यहरू विनाप्रवेशाज्ञा कतै जान पाउँदैनन् । विश्वका प्रत्येक मनुष्यलाई विना कुनै अवरोध विश्वका प्रत्येक देशमा आवत–जावत गर्न पाउने व्यवस्थाका लागि अन्तर्लोकवाद स्थापित हुनु आवश्यक छ । भगवान् परमात्माले मनुष्यको रूचि र योग्यताअनुसार पाताल–लोकदेखि गोलोकसम्म जान पाउने व्यवस्था गरेका छन् । प्रकृति–परमेश्वरीले बनाइदिएको संसार हामी सबैको साझा हो ।

जीवात्मा त परमात्माको तटस्थ शक्ति हो । मनुष्य–जीवले आ–आफ्ना स्वतन्त्र कर्म तथा सोचाइअनुसार परिणाम प्राप्त गर्दछन् । स्वर्ग अथवा नरक जानै पर्छ । पाञ्चभौतिक शरीर तथा संसारमा रहेको आसक्तिले पुनर्जन्म गराउँछ । जीवात्मा सत्त्व गुणले युक्त छ भने देवता भएर जन्मन्छ । रजोगुणले युक्त छ भने मनुष्य भएर जन्मिन्छ । तमोगुणले युक्त छ भने सर्प, राक्षस आदि योनिमा ओर्लिन्छ ।

संसारका सबै प्राणी र पदार्थमा परमात्मा–परमेश्वरको रूप भर्दै सर्वत्र श्रीकृष्णको अनुभव गरेर सबै प्राणी–परमेश्वररूपी परमात्माको सेवा गर्ने भाग्यमानी पुरुषले पुरुषोत्तम परमात्माकै पद पाउँछन् । रुचि र योग्यताअनुसार पद दिलाउने निष्पक्ष न्याय–प्रणाली नै लोकतन्त्र हो ।

भौतिक वाद भनेकै भेदवाद होस द्वन्द्ववाद होस बाँड्न मिल्ने तर खान नमिल्ने सपना र कल्पनाको लड्डु होस साम्यवाद किमार्थ होइन । भौतिक वादमा बिहान, दिउँसो, बेलुका आदि कालको भेद हुन्छ । आफ्नो देश र अर्काको देशमा भेद हुन्छ । सेतो, रातो, कालो आदि रंगभेद हुन्छ । स्त्री, पुरुष आदि लिंगभेद हुन्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र आदि वर्णभेद हुन्छ । देवता, मनुष्य, पशु, पक्षी, तँ, म आदि जीवभेद हुन्छ । राजा, प्रजा, ब्रह्मा, विष्णु, महेश्वर आदि पदभेद हुन्छ । शैव, शाक्त, वैष्णव, हिन्दू, इसाई, इस्लाम आदि साम्प्रदायिक भेद हुन्छ । आफ्नै प्रतिमूर्ति सन्तान र आमाबाबुकै बीचमा द्वन्द्व हुन्छ । किनभने भौतिक वादमा सुख–दुःख, पाप–पुण्य, जय–पराजय, मान–अपमान आदि भावविकारमै भेद हुन्छ ।

भौतिक वादमा भेद गर्दागर्दै मनुष्य आफ्नै अंग शिर र पाउमा समेत भेद गर्छ । द्वन्द्वात्मक भौतिक वादबाट साम्यवाद आउला भन्ठान्नु भ्रम मात्र हो ।

आत्मावाद नै साम्यवाद हो । आत्मावादमा जीवात्माले आनन्दस्वरूप परमात्माको मात्रै उपासना र सेवा गर्छस परमात्माले जीवात्माको मात्रै उपासना र सेवा गर्छन् । परमात्माले आफ्नो सुखलाई छोडेर जीवात्माको मात्रै सुख चाहन्छन् । जीवात्माले पनि आफ्नो सुखलाई छोडेर परमात्माको मात्रै सुख चाहन्छन् । केवल परमात्माकै लागि सेवा र उपासना गर्छन् । निष्काम तथा निःस्वार्थ प्रेमको आदान–प्रदान मात्रै साम्यवाद हो ।

अन्तर्लौकिक लोकतान्त्रिक साम्यवादमा सबै जीवात्मा र परमात्माको समान पद रहन्छ । मैले कहिल्यै त्याग नगर्ने गरी सदस्यता लिएको छु ।

म परमात्माको सुख र सेवाका लागि यथासम्भव अहिंसा र सदाचारका लागि प्रतिबद्ध रहन सकूँ । यी दुइटा लक्ष्य प्राप्तिका लागि परमात्मालाई नै साक्षी राख्दै मौनव्रत, रूपध्यान, अश्रुपात, अनशन आदि सत्याग्रह मात्र गर्नेछु ।

शीर्ष समाचार

धेरै पढिएको