August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ।

संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशमार्फत अलोकतान्त्रिक बाटोमा अगाडि बढेको निष्कर्श निकाल्दै कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो। कांग्रेसले अध्यादेशपश्चात् हुने कुनै पनि निर्णय पार्टीलाई मान्य नहुने स्पष्ट पारेको छ।

‘मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर  बैठकले गरेको छ। संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ,’ बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिने निर्णय बैठकले गरेको छ। बैठकले अविलम्ब अध्यादेश फिर्ता गर्न माग गरेको छ।’ 

कांग्रेसले विशेष अधिवेशन निश्चित उद्धेश्यका लागि मात्र बोलाइने र त्यसपछि फेरी स्थगन हुने भएकाले नियमित अधिवेशन बोलाउनुपर्ने माग गरेको छ। ‘संविधानको धारा ९३ को ३ ले जुन व्यवस्था गर्छ, त्यो व्यवस्था अनुसार १५ दिनभित्र निश्चित उद्धेश्यका लागि संसद बोलाइन्छ। त्यो उद्धेश्य पुरा भएपछि त्यो अधिवेशन त सकिन्छ।

त्यसपछि सरकारलाई फेरी ६ महिना संसद नबोलाउने छुट हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘र फेरी ६ महिना बालुवाटारलाई रजगज गर्न दिने पक्षमा हामी छैनौं। त्यसकारण संसदको विशेष अधिवेशन होइन, अविलम्ब नियमित अधिवेशन बोलाउन माग गर्छौं।’ संविधानको धारा ९३९३० मा एक चौथाई सांसदले माग गरे विशेष अधिवेशन बोलाउन सकिने व्यवस्था छ। 

कांग्रेसले सरकार संविधान विपरीत अगाडि बढेकाले सदन र सडकबाट सशक्त दवाव दिनुपर्ने निष्कर्शमा पुगेको पूर्वउपभासपति गोपालमान श्रेष्ठले बताए।

शीर्ष समाचार

धेरै पढिएको