August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

नेकपा स्थायी समिति बैठक सुरु, ओली भने अनुपस्थित

काठमाडाैं–  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली भने अनुपस्थित छन् ।
बैठकमा ओली नआएपनि कार्यकारी अध्यक्ष प्रचण्डले सुरु गरेका हुन् । बैठक अगाडि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो । प्रचण्डले ओलीसँगको छलफलपश्चात नै बैठक सुरु गरेका हुन् ।

मंसिर २१ देखि सुरु भएको स्थायी समिति बैठकमा प्रचण्डको प्रस्ताव खारेजको माग गर्दै ओलीले बहिस्कार गर्दै आएका छन् । उनले पहिलो बैठकमा प्रचण्डको प्रस्ताव खारेज नभएसम्म उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएका थिए ।

गत कात्तिक २८ मा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै १९ पृष्ठको राजनीतिक प्रस्ताव छलफलका लागि अघि सारेका थिए । जसको जवाफी प्रस्ताव स्वरुप मंसिर १३ मा बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको प्रस्ताव अघि सारेका थिए । जसमा प्रचण्डमाथि राजनीतिक तथा आपराधिक प्रकृतिका आरोपहरु लगाइएको छ ।

मंसिर २१ देखि सुरु स्थायी समिति बैठकमा दुवै अध्यक्षका पत्रमाथि छलफल चलिरहेको छ । यसअघि पार्टी केन्द्रीय सदस्य कमानसिंह लामाको निधनका कारण मंसिर २८ मा बसेको स्थायी समिति बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

आजको बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावसहित सरकारले जारी गरेको संवैधानिक परिषदसँग सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने जनाइएको छ । यसअघि अध्यादेश जारी भए लगत्तै पार्टी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले आपत्ति जनाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको