April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
KN hd tv

सूचना लुकाउने त्रिविका शिक्षाध्यक्षलाई ५ हजार जरिवाना

काठमाडौं- राष्ट्रिय सूचना आयोगले सूचना लुकाएको भन्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ। सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना लुकाएको अभियोग पुष्टि भएकाले जरिवाना गर्ने फैसला सुनाएको हो। आयोगको आदेश पालना नगरी मातहतको कार्यालयमाथि जिम्मेवारी पन्छाउन खोजेको, आयोगको आदेश, पत्राचारको वेवास्ता गरी विषयान्तर गर्दै पन्छिन खोजेको ठहर गर्दै आयोगले यस्तो फैसला सुनाएको हो।

आयोगले उत्तरपुस्तिका सुरक्षित राख्न आदेश दिएको थियो। तर, आयोगले आदेश दिएको मितिमा शिक्षाध्यक्ष रहेका प्रा.डा. शिवलाल भुसाल भएकाले उनलाई उक्त सजाय हुने देखिएको छ। जरीवाना गराउने आयोगको आदेशमा शिक्षाध्यक्षको नाम भने उल्लेख छैन।

राष्ट्रिय सतर्कता केन्द्र तथा राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयलाई अर्को आदेश नभएसम्म विवादित परीक्षाको उत्तरपुस्तिका लगायत परीक्षासम्बन्धी कागजात नष्ट नगर्न दिएको आदेश विपरीत उत्तरपुस्तिकाहरु नष्ट गरिएपछि यस्तो आदेश गरेको छ।

‘शिक्षाध्यक्षलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(५) बमोजिम कारबाही हुने व्यहोराको जानकारी गराउँदा, चेतावनी दिँदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार रहेको आयोगको ठहर छ,’ आयोगको आदेशमा भनिएको छ, ‘नागरिकको संविधान प्रदत्त मौलिक हकको प्रचलनको लागि स्वतन्त्र आयोगबाट चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैर जिम्मेवारीपूर्ण कार्य गर्ने पदाधिकारीलाई दण्डित गर्न पर्ने देखिन्छ। तसर्थ, नागरिकको संविधान प्रदत्त र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गर्ने त्रिवि शिक्षाध्यक्षको कार्यालय, कीर्तिपुरका कार्यालय प्रमुख (शिक्षाध्यक्ष) लाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (५) बमोजिम पाँच हजार जरिवाना हुने ठहर्छ।’ 

सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६(७) बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(५) बमोजिम गरेको जरिवाना असुल उपर गर्न आयोगले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्नसमेत आदेश दिएको छ।

शीर्ष समाचार

धेरै पढिएको