August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

माया लागेर नै ओलीलाई मैले पटक–पटक उपप्रधानमन्त्री बनाएँ: नेता नेपाल

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुको अपमान गरेको बताएका छन् ।

हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल लगायतको अपमान गरेको बताएका हुन् ।

‘उहाँ (ओली) झुटको पुलिन्दा, झुटको खेती गर्न सिपालु सबै खालका कुकर्म गर्न सिपालु । उहाँ र उहाँसँग लागेका मान्छे संस्कारहिन मानिसहरु छन् । जसलाई कुसंस्कार भन्न सकिन्छ’, उनले भने, ‘जसमा आत्मआलोचना छैन् । जनताका गुनासा, आलोचना असन्तुष्टी सुन्ने धैर्यता छैन् म नै सर्वेसर्वा हुँ भन्ने अहंकार छ । अरुलाई अपमान, मानमर्दन गर्ने प्रवृति छ ।’

नेता नेपालले ओली र प्रचण्डबीचको मात्रै एकता नभएको बताएका छन् । उनले अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादसँग प्रधानमन्त्री पद साटेको आरोप लगाएका छन् ।

‘ नेपालले भने, ‘के यो दुईटा अध्यक्षको प्राइभेट लिमिटेड कम्पनी हो ? या पूर्वएमाले भनेको हाम्रो केपी शर्मा ओलीजीको प्राइभेट लिमिटेड कम्पनी हो ? जनताको बहुदलीय जनवाद छाड्ने व्यक्ति को ? केपी शर्मा ओली जी,’ नेता नेपालले भने, ‘प्रचण्डजीसँग प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोड्ने व्यक्ति इतिहासमा दर्ज गर्नु पर्ने हो भने केपी शर्मा ओली जी नै हो ।’

उनले प्रधानमन्त्री ओलीले छाडा ट्वीट लेख्ने व्यक्तिहरुलाई आफ्नो सचिवालय राखेको बताएका छन् । उनले प्रधानमन्त्रीले नियुक्ती गरेका व्यक्ति कुनै न कुनै कुकर्ममा लागेको प्रमाण आफूसँग रहेको बताए ।

‘छाडा ट्वीट लेख्ने व्यक्तिहरुको नियुक्ति भएको छ । यी एकएक व्यक्तिहरुको सबैको कुकर्म गरेकाहरुको मसँग प्रमाण छ,’ उनले भने ।

उनले आफू कसैसँग नडराउने बताएका छन् । नेता नेपालले आफू जनताका सामू मात्र नरम हुने र अहंकारीसँग नडराउने बताएका हुन् । उनले प्रधानमन्त्रीतर्फ लक्षित गर्न उनलाई अहंकारीको संज्ञा दिएका छन् ।

‘जनताका सामू मात्रै म बिनम्र हुन्छु अहँकारीका अगाडि म झुक्दिन । उहाँ(ओली)को माया लागेर नै पटकपटक उपप्रधानमन्त्री बनाएको हो । माया लागेर नै गणतन्त्रको विपक्षमा उहाँलाई प्रस्ताव मैले गरेको हो । केन्द्रीय कमिटी उहाँको पक्षमा थिएन । उहाँ कुनै गुन मान्नुहुन्न । जस दिनुहुन्न । पटकपटक मन्त्री उपप्रधानमन्त्र कसले बनायो? ’, उनले प्रश्न गरे ।

ओलीले वि.संस २०५१ देखि २०५२ सम्म गृहमन्त्री बनेका थिए । त्यसपछि २०६४ देखि २०६५ सम्म उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए । उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन् ।

नेता नेपालले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । उनले अहिलेको आन्दोलन पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा भइरहेकाले गलत बाटो नरोज्न ज्ञानेन्द्रलाई चेतावनी दिएका छन् । नेता नेपालले सरकारले जनपक्षी काम गर्न नसक्दा अहिले राजावादीहरु सल्बलाएको बताएका हुन् ।

‘यो कुरा सम्भव छैन् । इतिहासको पाङ्ग्रा पछाडि धकेल्न सकिँदैन । राजतन्त्र आउनु भनेको पछाडि धकेल्नु हो । अफगानस्थान र फ्रान्सका राजाहरु पुर्नस्थापना हुन्छु कि भनेर चाहना राखेर बसेका हुन् । त्यसकारण म पूर्वराजा ज्ञानेन्द्र शाहलाई भन्न चाहान्छु– यो बाटोमा तपाई नजानूस्’, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको