April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

नेपाल एयरलाइन्स: १० नयाँ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्न ६ जहाज थप्ने योजनामा

काठमाडौं- राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले थप १० वटा नयाँ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै बजार विस्तारका लागि ६ वटा नयाँ जहाज थप्ने तयारी गरेको छ।

केही महिना अगाडि मात्रै निगम महाप्रबन्धक भएका डिमप्रकाश पौडेलले नेपाल एयरलाइन्सको बजार विस्तार गर्दै प्रतिस्पर्धी र ‘वाह! नेपाल एयरलाइन्स’ बनाउने भन्दै व्यवसायिक योजना ल्याएका छन्।  उनले ल्याएका व्यवसायिक योजनामा अन्तर्राष्ट्रिय उडानको बजार विस्तारमा थप १० वटा नयाँ गन्तव्यका उडान गर्ने र २०२४ भित्र निगमलाई नाफामा लैजान उल्लेख छ।

महाप्रबन्धक पौडेलले जहाज थप्ने गरी ल्याएको व्यवसायी योजना निगम सञ्चालक बोर्डमा छलफलसमेत भइसकेको छ। बोर्डमा छलफल भएको व्यवसायी योजना सर्वसहमत रूपमा पारित भई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको निगम सञ्चालक अच्युतराज पहाडीले जानकारी दिए।

निगमले मन्त्रालयमा पठाएको व्यवसायिक योजनामा यी गन्तव्यसहित थप नयाँ गन्तव्यमा २०२४ भित्रै उडान सुरु गर्दै अहिले घाटामा रहेको निगमलाई नाफामा लैजान लक्ष्य लिएको छ।

आन्तरिक उडानका लागि पनि ६ जहाज
यसैगरी निगमले आन्तरिक उडानमा गुमेको साख फर्काउँदै आक्रामक बजार विस्तारका लागि पनि ६ वटा नयाँ जहाज किन्ने लक्ष्य लिएको छ। जसमा दुर्गगका पहाडी जिल्लाको विमानस्थलमा उडान गर्ने सक्ने ४ वटा साना प्रकृतिका र सुगम तथा तराईका जिल्लामा उडान गर्न सक्ने २ वटा जहाज खरिद गर्ने लक्ष्यसहित व्यवसायिक योजना ल्याएको छ।

निगमले आन्तरिक उडानमा प्रयोग भएका ६ वटा  चिनियाँ जहाजको उडान बन्द गरिसकेको छ। अहिले ३ वटा ट्विनअटर जहाज भएपनि निमगले २ वटा ट्विनअटर जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ। आन्तरिक उडानमा निगमले काठमाडौंबाहिर पोखरा, विराटनगर, नेपालगञ्ज र सुर्खेतलाई आधार बनाएर उडान गर्ने लक्ष्य राखेको छ।

शीर्ष समाचार

धेरै पढिएको