विप्लव नेकपाका नेता सापकोटा फेरि पक्राउ
काठमाडौँ– स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् ।
बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।
मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको विप्लव समूहका नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।
चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो । भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो ।
साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोग छ ।
प्रतिकृया दिनुहोस्