‘ओलीले कार्यशैली नसुधारे दुवै पदबाट हात हल्लाए हुन्छ’: माधवकुमार नेपाल
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्को विवाद यथावत नै छ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन् : सोही पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। पार्टीभित्र विवादका क्रममा प्रधानमन्त्री ओलीको अमर्यादित व्यवहार भोगेका र उनको कार्यशैलीबाट रुष्ट नेता नेपाल यतिखेर अध्यक्ष दाहालसँग सहकार्यमा छन्।
सत्ताधारी दलको गतिविधिबारे प्रश्न उठाउने प्रतिपक्षी दलको भूमिका यतिबेला प्रचण्ड-नेपालले गरिरहेका छन्। यही विवादलाई निकास दिन प्रधानमन्त्री ओलीले एक पदबाट बिदा हुनैपर्ने उनीहरूको अडान छ।
त्यसो त यसअघिको विवादमा पनि प्रचण्ड-नेपालले दुवै पदबाट ओलीको राजीनामा मागेपनि पार्टी संकटमा पुग्ने देखिएपछि अध्यक्ष दाहाल पछि हटेका थिए। नेपालको साथ पाइरहेका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँगको सहमतिमा ‘एक व्यक्ति, एक पद’को बटम लाइनबाट ब्याक भएका थिए। अध्यक्ष दाहालले त्यसबेला आफ्नो मुख्य बटमलाइनको बुँदालाई समावेश नगराएपछि नेपाल रुष्ट बनेका थिए।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको सहमतिपछि बनेको कार्यदलको सुझावको आधारमा भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकमा नेपाल पनि एक हदसम्म सहमत देखिएका थिए। तर, उनले बैठकमा ’पार्टीको विधानको धारा ४६(क) अनुसार सबै तहमा सबै व्यक्तिको हकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्छ। यसो गर्दा मात्रै विशाल पार्टीको काम सन्तुलन मिलेर धेरैले जिम्मेवारी पाउनुको साथै नेतृत्वको विकास हुन्छ’ भनेका थिए।
‘हामीले एकताको सन्देश दिने बेलामा पार्टीको साविक कमिटीमा रहेका कसैलाई पनि अपमान नहुने गरी कमिटी निर्माण गर्नुपर्छ। त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको सर्कुलर अनुसार साविक कमिटीका सिनियरहरूलाई राखेर कमिटी निर्माण गर्नुपर्छ’ त्यतिखेर उनले भनेका थिए, ‘अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीको जिम्मेवारी दिने सुनिश्चित गर्नुपर्छ।’
पार्टीभित्रको विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले एक पद छाड्नुपर्ने नेता नेपालनिकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्।
‘विवाद समाधानका लागि बैठकमा उहाँ (ओली) आउनु नै हुन्न। बैठक नराख्न मात्रै भन्नुहुन्छ। त्यसैले उहाँले एक पदबाट राजीनामा दिएमा समस्या समाधानतर्फ जान्छ’, उनले भनिन्, ‘उहाँको कार्यशैलीमा सुधार आउँदैन भने एक पद मात्रै होइन, दुवै पदबाट विदा हुनु सबैका लागि उपयुक्त हुन्छ।’
पार्टीभित्र एक व्यक्ति, एक पदको कुरा पार्टीभित्र बहस रहिरहेको स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन्। ‘पार्टीभित्र बहसमा आएका छन्। त्यस विषयमा सचिवालय, स्थायी कमिटीले छलफल गरेर निर्णय गर्छ,’ उनले भने।
पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नसके समस्या नआउने उनी बताउँछन्।
प्रतिकृया दिनुहोस्