April 14, 2021, Wednesday
२०७८ बैशाख १, बुधबार
KN hd tv

शशांकलाई विरासतले थेग्ला?

काठमाडौँ – २० वर्ष आँखा चिकित्सकका रुपमा बिताएका डा शशांक कोइरालाले दुनियाँको आँखा हेरे, उपचार गरे। २०६२ मा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेका उनले राष्ट्रको ‘आँखा हेर्ने’ भूमिका प्राप्त गरिसकेका छैनन्। पार्टीको ‘आँखा हेर्ने’ एक तहको भूमिका भने निभाइरहेका छन्।

चिकित्सा क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नका लागि शशांकसँग पारिवारिक विरासतको बलियो आड थियो। कोइराला परिवार कांग्रेसमा ‘हाबी’ रहेकै बेला उनी सक्रिय राजनीति प्रवेश गरेका थिए। र विरासतकै बलले उनी १३औं महाधिवेशनबाट महामन्त्री समेत बनेका थिए।

आफू सर्वोच्च पदमा नभएकै कारणले भूमिका खुम्चिएको शशांकको तर्क हुने गर्छ। यद्यपि, झन्डै ५ वर्ष महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् र पदीय भूमिकामा खरो उत्रिन नसकेको आरोप पनि खेपिरहेका छन्। समयको सन्दर्भले यस अवधिको समीक्षाको माग गरिरहेको छ। जसबारे उनले कांग्रेस कार्यकर्तालाई आश्वस्त पार्नुपर्ने छ।

सभापतिको प्रत्यासीको रुपमा शशांकको औचित्य पुष्टि गर्ने केही बलिया आधार छन्, केही बलिया कठिनाइहरु छन्। उनीसँग जोडिने मुख्य विषयचाहिँ पारिवारिक विरासत हो।

परिवारबाटै सकस
महामन्त्रीको उम्मेदवारको रुपमा ज-जसले सहयोग गरेका थिए, उनीहरुबाट पुनः सहयोग पाउनु शशांकका निम्ति चुनौतीपूर्ण छ। संस्थापनइतर समूहका अन्य नेताको मात्रै कुरा होइन, कोइराला परिवार नै शशांकका निम्ति ‘तगारो’को रुपमा देखिन्छ। 

१३औं महाधिवेशनमा शशांकलाई महामन्त्री बन्न बाटो खालि गरिदिएका डा शेखर कोइरालाले यसपटक सभापतिको प्रत्यासीको रुपमा भने उनलाई नछाड्ने बताइसकेकै छन्। कतिसम्म भने शेखरले त त्यतिबेला आफू शशांकलाई छोड्नुलाई आफ्नो ‘गलत’ निर्णयको रुपमा समीक्षा गर्दै आएका छन्। उनी संस्थापनइतर समूहबाट आफू नै सभापतिको उम्मेदवार बन्ने दाउमा छन्।

सभापति बन्ने आकांक्षा राखेरै १३औं महाधिवेशनपश्चात शेखरले जिल्ला घुम्ने क्रमलाई तीव्रता दिए। घुम्ने क्रममा नेता तथा कार्यकर्ताको भावना बुझेको उनको दाबी छ। त्यस्तै, आफू एकपटक मात्रै सभापति बन्ने र सभापति चयन भएमा प्रधानमन्त्रीको जिम्मेवारी नलिने घोषणा पनि गरिसकेका छन्। १५ औं महाधिवेशनमा उमेरले साथ नदिने बुझेका शेखरले १४ औं महाधिवेशनलाई नै आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरिरहेका छन्।

त्यसो त कोइराला परिवारबाट शेखर पछि नहटे उनलाई साथ दिने संकेत शशांकले दिएका छन्। आफ्नो समूहका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह सहितका नेताले शेखरलाई नै सभापतिको प्रत्यासीमा स्विकारे मात्रै आफूले पनि उनका लागि बाटो खालि गर्ने शशांकको शर्त छ। नेपाल लाइभसँगको एक संवादमा उनले भनेका छन्, ‘अरु सबैले स्विकारे भने त मैले किन नस्वीकार्ने? स्वीकारी हाल्छु नि।’

कोइराला परिवारकै अर्की चर्चित पात्र हुन्, सुजाता कोइराला। उनले पनि सभापतिको आकांक्षा राखेकी छन्। स्वास्थ्य प्रतिकूल रहेकी उनले दाबी गरे पनि अन्ततः कोइराला परिवारकै एक जनालाई समर्थन गर्ने बताइन्छ। १३ औं महाधिवेशनमा पनि कोइराला परिवारबाट सभापतिमा दाबी गरेकी उनले तीन बुँदे सहमति गर्दै नेता रामचन्द्र पौडेललाई समर्थन गरेकी थिइन्।

शशांकसँग लामो समयसम्म संगत गरेका प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तुफान कोइराला परिवारबाट एकल उम्मेदवार हुने दाबी गर्छन्। शशांकको व्यवहारसँग परिचित उनी भन्छन्, ‘उहाँ(शशांक) त्याग गर्ने नेता हो। शेखरलाई अरुले साथ दिएमा उहाँले पनि दाबी छोड्नुहुन्छ।’

विरासतको घट्दो आकर्षण
कांग्रेसका संस्थापक नेता बिपी पुत्र भएकै कारण उनले कांग्रेसमा स्थान बनाएको टिप्पणी हुने गर्छ। चिकित्सा क्षेत्रबाट राजनीतिमा प्रवेश गर्दा आम कार्यकर्ताको उनीप्रति आकांक्षा उच्च थियो। त्यसैप्रति संकेत गर्दै नेपाल लाइभसँग उनले भनेका थिए, ‘२० वर्ष मेडिकल क्षेत्रमा काम गरें। हस्पिटलमा बस्दाबस्दै त्यहाँ मलाई के भनियो भने व्यक्तिको आँखा मात्रै हेरेर भएन, राष्ट्रकै आँखा हेर्नुपर्‍यो। राजनीतिमा आउन धेरै प्रेसर आएपछि म यो क्षेत्रमा आएको हुँ।’

शशांकको उक्त बोलीमा बिपीको रगतसँगै विचार पनि प्रवाह भएको बुझिन्छ। तर उनीप्रतिको अपेक्षा र प्रतिफलको तादम्यता मिलेको छैन। उनी बिपी-पुत्र त हुन्, तर बिपी-राजनीति र बिपी-उचाईसँग उनको कुनै सम्बन्ध देखिँदैन।

१३औं महाधिवेशनमा पनि शशांकले व्यक्तित्वभन्दा सहानुभूतिको मत पाएको चर्चा समेत हुने गरेको छ। ‘बिपीको छोरा हुन् भनेर महाधिवेशन प्रतिनिधिले भावनामा बगेर मत दिएर विजयी भएका हुन्’, कांग्रेस शुभेच्छुक एक विश्लेषक भन्छन्, ‘तार्किकता र सबलता भएर जितेकै होइनन्। एजेन्डा बोकेका होइनन्, कुनै प्रचार गरेका पनि होइनन्। उनी हार्दा बिपीमाथि अन्याय हुने सम्झेर प्रतिनिधिले मत दिएका हुन्।’

लामो समय फरक पेशामा रहेको हुनाले पनि उनमा राजनीतिक अनुभव र चलाखीको कमी रह्यो। चिकित्सा पेशामा रहँदा उनले पार्टीद्वारा सञ्चालित आन्दोलनमा सहयोग गरे पनि सक्रिय भूमिकामा रहने अवस्था थिएन। यद्यपि, राजनीतिक भूमिकामा आफ्नो कमि नभएको शशांकको दाबी छ। ‘मैले राजनीति गरेको ५०औं वर्ष भइसक्यो। जुन परिवारमा जन्मिए, त्यो परिवारले निरन्तर राजनीति गरिरहेको थियो/छ। पम्पप्लेट लुकाएर विराटनगर ल्याउँथ्यौ’, आफ्नो राजनीतिक सक्रियता बारेमा उनी भन्छन्, ‘त्यो पनि एक किसिमले राजनीति हो। मोरङ क्याम्पसमा लाठी चार्ज हुँदा एक दिन जेल पनि परेको थिएँ।’

२०४६ को जनआन्दोलनमा चिकित्सक हुँदै उनी जनआन्दोलनमा सरिक भएका थिए।

राजनीतिक परिवारमा हुर्केको शशांक बिपी निर्वासनमा रहेको बेला भारतमै रहे। दार्जलिङ र बनारसमा पढेका उनी नेपाल फर्केपछि टिचिङ हस्पिटलको जागिरमा व्यस्त भए। राजनीतिमा उनको प्रवेश जागिरपछिको ‘रिटायर्ड’ कालमा सुरु भएको थियो।

यसरी ११औं महाधिवेशनअघिका सन्दर्भ केलाउने हो भने शशांकसँग राजनीतिक अनुभव त्यतिमात्रै छ, जति आजकाल विद्यार्थी संगठनका सामान्य नेतासँग पनि हुने गर्छ।

आफ्ना थातथलो मोरङ छोडेर उनी सुरक्षित स्थान खोज्दै नवलपरासी पुगे। उनी त्यहीँबाट निर्वाचित विजयी हुँदै आएका छन्। त्यसो त उनले आफ्नो भागमा रहेको विराटनगरको जग्गा समेत बेचिसकेका छन्। शान्तिकालको सुरुवातसँगै शशांकले आफ्नो नाममा रहेको जग्गा बेचेका हुन्। कोइराला परिवारसँगै आउने विराटनगरसँगको ‘एट्याचमेन्ट’ उनले छोडेको आरोप लाग्ने गरेको छ।

बिपीका जेठा छोरा प्रकाश कोइराला राजनीतिबाट टाढिएका छन्। राजसंस्थाको पक्षमा देखिएपछि प्रकाश कोइरालालाई कांग्रेसले निश्कासन गरेको थियो। अर्का छोरा श्रीहर्ष राजनीतिमा प्रवेश नै गरेनन्। शशांकमै ‘बिपी-फ्लेबर’को राजनीतिक उच्चता खोजिएको थियो। जसका लागि उनी पनि लागिपरेका छन्। तर, कठिनाइ देखिने मात्रै होइन, असम्भव नै प्रतीत हुन्छ।

ढुलमुले नीति
महाधिवेशन सकिएको चार वर्षसम्म उनले आफ्नो कित्ता नै स्पष्ट गरेनन्। पार्टी सभापतिको कार्यशैलीमा प्रश्न पनि उठाएनन्। समन्वयकारी भूमिकामा देखिन खोजेका उनले सभापति शेरबहादु देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी मञ्चमा भन्ने गर्थे- ‘मैले पनि सभापतिको आलोचना गरें भने पार्टी कसरी बलियो हुन्छ? सभापतिलाई गाली गर्न मेरो पदीय भूमिकाले दिँदैन।’

१३औं महाधिवेशनमा उनले देउवा विरोधी धारबाट महामन्त्रीमा विजयी भएका थिए। विजय पश्चात् शशांक करिब चार वर्ष देउवाको सहयोगीका रुपमा देखिए। सभापतिको कार्यशैलीमा असन्तुष्ट पक्षले विमति राख्दा उनले देउवाको पक्षधरता लिइरहे। पदीय जिम्मेवारी अनुसारको भूमिकालाई महामन्त्रीले सम्पादन गर्न नसक्दा पार्टीले क्षति बेहोरेको चर्चा समेत हुने गरेको छ। सभापतिका कार्यमा आफूले समर्थन जनाएको उनले स्विकार्छन्। शशांकले भने, ‘सुरुसुरुमा म शेरबहादुरजीकै पक्षमा उभिएको हुँ। यताका दिनमा आएर मैले शेरबहादुरको विकल्प खोज्दैछु। सभापतिले पार्टी चलाउन सक्नुभएन।’

आजकाल उनी आफूले मात्रै शेरबहादुर देउवालाई सभापतिमा दोहोरिनबाट रोक्न सक्ने दाबी गर्छन्। आफू सभापतिको उम्मेदवार हुनुपर्ने उनको दाबीको मुख्य आधार पनि यही नै हो।

सांठनिक रूपमा दललाई बलियो बनाउने दायित्व महामन्त्री पनि थियो। देउवा असफल हुँदा त्यसको अपजस उनैमा जोडिए पनि त्यसलाई स्विकार्न शशांक तयार छैनन्।

नियमित कार्यकाल (४ वर्ष) सकिएपछि देउवा विरोधी खेमाको नेतृत्वकर्ताको हैसियतमा उनी देखिने प्रयास गरे। संस्थापनइतरबाट १४औं महाधिवेशनमा सभापतिको बलियो प्रत्यासीको रुपमा उभिन उनी देउवा विरोधी देखिएको टिप्पणी हुने गरेको छ।

निर्वाचन सकिएपछि भएको केन्द्रीय समितिको समीक्षा बैठकमा उनले खेलेको भूमिका दोहोरो चरित्रको देखिएको नेताहरु बताउँछन्। साथै, संसदीय दलको नेता चयन गर्ने क्रममा उनले संस्थापन इतरका नेता प्रकाशमान सिंहको पक्षमा लागेनन्।

राजनीतिमा आइसकेर पनि उनले खेलेको भूमिका अराजनीतिक देख्छन्, कांग्रेसका राजनीतिका जानकार एक विश्लेषक। उनले भने, ‘अराजनीतिक व्यक्ति कांग्रेसको महामन्त्री बने। उनी कुशल संगठक पनि होइनन्। महामन्त्री हुँदा उनको सिर्जनात्मक छवि पनि देखिएन।’

नेता कार्यकर्तालाई नचिढ्याउने गुण रहेका उनको सार्वजनिक मञ्चको प्रस्तुति भने फितलो देखिएको छ। पार्टीको भूमिकामा सशक्त नदेखिएका उनी संसदीय अभ्यासमा समेत निकै कमजोर देखिन्छन्।

राजनीतिक परिवारमा हुर्केका उनले राजनीतिक संस्कार र प्राज्ञिक ज्ञानको समुचित प्रयोग गर्न नसकेको आरोप लाग्ने गरेको छ।

धर्मको त्यान्द्रो
संविधानमा लेखिएको धर्म निरपेक्षताको मर्म विपरीत शशांक देखिन्छन्। धर्मको विषयमा दिएका अभिव्यक्तिले समय/समयमा उनी विवादित पनि हुने गरेका छन्। संविधान स्विकारेको कांग्रेसले संविधान विरोधी धारणा दिन नहुने कांग्रेसी नेताहरु नै बताउँछन्। तर उनी कहिले अलि प्रष्ट र कहिले अस्पष्ट रुपमा विवादित धारणा अघि सारिरहन्छन्।

धर्मको सन्दर्भमा जनमत संग्रहको पक्षमा शशांक छन्। कांग्रेसका शीर्ष तहका नेताहरुले नै संविधान विरोधी अभिव्यक्ति दिँदा आफैंले बनाएको संविधानको स्वामित्व लिन चुकेको अर्थ लाग्ने बताउने गरे पनि शशांकले त्यो कोणबाट सोच्ने झन्झट गरेको देखिँदैन।

१४औं महाधिवेशनमा हिन्दू धर्मको पक्षमा आवाज उठ्ने शशांकको आकलन छ। धर्म सापेक्ष र निरपेक्ष हुन नहुने धारणा राख्ने उनले धार्मिक स्वतन्त्रताको वकालत गर्छन्। गत महासमिति बैठकमा हिन्दू राज्यको माग गर्दै उठेको आवाजलाई उनी महाधिवेशनसम्मै पुर्‍याउने तयारीमा छन्। तत्कालीन समयमा करिब आठ सय महासमिति प्रतिनिधिले हिन्दू राज्यको पक्षमा हस्ताक्षर गरेर शीर्ष नेतृत्वलाई बुझाएका थिए।

गतवर्ष दुईपटक भारत भ्रमणमा निस्केका उनी धार्मिक एजेण्डा स्थापित गर्नका लागि भएको भन्दै नेपालमा आलोचना भएको थियो।

आफूमा सबल नेतृत्वको गुण विकास गर्दै पार्टी कार्यकर्ता तथा जनताको विश्वास जित्ने प्रयत्न गरेका छैनन्, शशांकले। बरु पारिवारिक विरासत र धर्मको त्यान्द्रो समाएर राजनीतिक बाढी तर्ने प्रयास गरिरहेका छन्।स्रोतः नेपाललाइभ