June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

तृप्ति नाडकरका छोराले नेपाली फिल्म गर्दै

‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी एक समयकी सफल अभिनेत्री तृप्ति नाडकर विवाहपछि अभिनयमा सक्रिय छैनन् । परिवारसँग भारतमा बस्दै आएकी उनको अब नेपाली फिल्ममा फर्किने सम्भावना न्यून छ । तर, उनका छोरा धिरज टोटलानीले भने नेपाली फिल्ममा डेब्यू गर्ने भएका छन् । निर्देशक सुरेन्द्र पौडेलले उनलाई हिरो बनाउन लागेका हुन् । 

लकडाउनभन्दा अगाडि नै निर्देशक पौडेल फिल्मको छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले चैत पहिलो साताबाट लकडाउन गरेपछि फिल्म फ्लोरमा निस्कन सकेको छैन । फिल्ममा धिरजसँगै अभिनेत्री अदिती बुढाथोकी र गायक नितेशजंग कुँवरको पनि अभिनय रहनेछ । फिल्मले त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने बुझिएको छ ।  बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रेपरेस’ कलेजबाट अभिनयको कोर्ष गरेका धिरजले थुप्रै सर्ट फिल्म तथा विज्ञापनमा काम गरेका छन् ।

चकलेटी लुक्सका धिरजलाई फिल्म अफर गर्न निर्देशक पौडेल मुम्बई नै पुगेका थिए । फिल्मको स्क्रिप्ट मन परेपछि उनी काम गर्नका लागि तयार भएको जानकारी प्राप्त छ । उनी फिल्मको छायांकनका लागि चाँडै नेपाल आउने तयारीमा छन् । निर्माण टिमले भने तृप्ति नाडकरका छोराले फिल्म गर्न लागेको विषयमा कुनै जानकारी दिएको छैन । स्रोतका अनुसार, निर्माण टिम फिल्मको घोषणा कार्यक्रममा धिरजको परिचय गराउने तयारीमा छ ।

यो मौकामा तृप्ति पनि नेपाल आउने बुझिएको छ । फिल्म गर्ने पक्का भएसँगै धिरजले आफ्नो आधिकारिक इन्स्टाग्राममा अभिनेत्री अदिती बुढाथोकीलाई पछ्याउन थालेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको