सरकार मनको गरिब छैन, निजीक्षेत्रलाई सघाउँछौं- प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्रलाई अघि बढाउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएकाले साझा एजेण्डामा अघि बढ्न तयार रहेको बताएका हुन्।
कोभिड-१९ बाट उत्पन्न असहज परिस्थितिमा आर्थिक कृयाकलाप चलायमान बनाउन उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका हुने प्रधानमन्त्री ओलीले बताए।
‘सरकार र निजी क्षेत्र बीचको संयुक्त प्रयासबाट मात्र अहिलेको समस्यासँग जुध्न सकिन्छ’, उनले भने, ‘यसका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग महासंघका विभिन्न संरचनाका संस्थाबीच सहकार्य गर्दै अघि बढ्नु पर्छ।’
विश्व साँघुरिएकाले कोभिडबाट जोगिन सहज नभएको उनले बताए। सुरक्षाका उपाय अपनाउँदा पनि कोरोनाको महामारी आक्रामक रुपमा फैलिरहेको उनले बताए। यसविरुद्ध साझा रुपमा सबै मिलेर अघि बढ्दै अर्थतन्त्रलाई माथि उकास्नु पर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे।
गत वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको बताउँदै उनले कोभिडका कारण शून्यमा बस्नुपरेको उनले बताए। अब सबै मिलेर अर्थतन्त्र उकास्न जुट्नुपर्ने उनले उल्लेख गरे।
अर्थतन्त्र उकास्ने वातावरण बनाउन सरकार लागिरहेको ओलीले बताए। ‘सरकार मनको गरिब छैन, आफ्नो गक्षअनुसार वा अझै एक कदम अघि बढेर उद्यमी व्यवसायीलाई सहयोग गर्न तयार छ’, उनले भने, ‘सरकारको तर्फबाट यसमा अग्रसरता देखाउने प्रतिवद्धता तपाईंहरुसमक्ष व्यक्त गर्दछु।’
अर्थतन्त्र नै कमजोर बनिरहेका बेला सरकार पनि प्रभावित भएको अवस्थालाई बुझ्न ओलीले आग्रह गरे। उनले दुवै पक्ष मिलेर अर्थतन्त्र उकास्ने अभियानमा हातेमालो गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
‘नयाँ उद्योग, व्यवसाय र कारोबारका क्षेत्रको पहिचान र कार्यान्वायनको काम निजी क्षेत्रले गरेको छ’, उनले भने, ‘पछिल्लो पुस्ताले झनै आधुनिक किसिमका काम गरिरहेको छ। उनीहरुको कामको प्रशंसा गर्नुपर्छ।’
महासंघले महिला अध्यक्ष बनाएर नयाँ कीर्तिमान बनाएको ओलीले बताए। महासंघ अध्यक्ष भवानी राणाको कामको पनि उनले प्रशंसा गरेका थिए। महासंघ कार्यसमितिसँग सरकारको समन्वय सफल रहेको बताएका उनले आगामी दिनमा पनि त्यसले निरन्तरता दिँदै अघि बढ्ने बताए ।
कृषिमा आधारित उद्योगको बिस्तार र आधुनिकीकरण जरुरी रहेको उनले बताए। ओलीले रोजगारी तीब्र रुपमा बिस्तार र आर्थिक कृयाकलापलाई बढावा दिनुपर्ने आवश्यकता औंल्याए। ‘यसका लागि उद्योग वाणिज्य महासंघले रचनात्मक भूमिका खेल्नु पर्छ’, उनले भने, ‘सरकारले तपाईंहरुलाई हर किसिमले सघाउनेछ।’
उदारवादी अर्थन्त्र अंगीकार नगरेको आरोप र भ्रामक तथ्यको पछि नलाग्न पनि प्रधानमन्त्रीले उद्योगी व्यवसायीलाई आग्रह गरे। ‘राष्ट्रका लागि रोजगारीका अवसर सर्जना गरिरहेका, कर तिरिरहेका सबै उद्योगी व्यवसायी राज्यको नजरमा समान छन्’, उनले भने, ‘सबैलाई राज्यले संरक्षण गर्छ तर व्यापार व्यवसायलाई पारदर्शी बनाउनुस्।’
राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजीपतिलाई प्रोत्साहन गर्नु पर्नेमा उनले जोड दिए। केही कमजोरी भएका कारण नै वैदेशिक लगानी खोज्नु परिरहेको पनि उनले बताए।
‘मुलुकभित्रका उद्योगी व्यवसायीको सही विकास नभएका कारण यस्तो अवस्था आएको हो। आफ्नो पूँजी बाहिर लगानी गर्ने किसिमले व्यवसाय नगरी स्वदेशमै लगानी बढाउने किसिमले अघि बढ्नुहोस्’, ओलीले अगाडि भने।
प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीसँग आग्रह गरे। धेरै नाफा कमाउन बाहिर लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्न उनले उद्योगी व्यवसायीलाई आग्रह गरे। श्रम बजार सस्तो भएकाले नेपालमा गरिने लगानीको मुनाफा अन्य मुलुकको तुलनामा धेरै हुने उनको भनाइ थियो।
ओलीले सरकारले गर्नु पर्ने कामबारे आवश्यक गृहकार्यका लागि सुझाव संकलन गरी बुझाउन उनले महासंघमार्फत सबै उद्योगी व्यवसायीलाई आग्रह गरे। बिहीबार सुरु भएको महासंघको ५४ औं वार्षिक साधारण सभा १३ गतेको निर्वाचनसँगै सकिँदैछ।
प्रतिकृया दिनुहोस्