‘मलाई दर्शकले लभर ब्वाईकै रुपमा रुचाउनुहुन्छ’- आर्यन सिग्देल
काठमाडौँ – एक समय बक्सअफिसका हिट मेशिन मानिने अभिनेता आर्यन सिग्देल केही वर्षदेखि सफलताबाट विमुख छन् । उनका पछिल्ला कुनै चलचित्र सफल छैनन् । गत वर्ष उनी अभिनीत ‘हजार जुनीसम्म र चच हुईं’ प्रदर्शनमा आएका थिए । तर, यी चलचित्रले उनलाई हिटको सुख दिन सकेनन् । ‘चच हुईं’ रिलिजको एक वर्षपछि उनी नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ मा अनुबन्ध भएका छन् ।
‘चच हुईं’ पछि एक वर्ष चलचित्रमा काम नगर्नुको कारण आफू नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘बीचमा छेतन गुरुङ दाईको एउटा चलचित्रमा काम गर्ने तयारीमा थिए । तर, छेतन दाईको निधन भएपछि त्यो प्रोजेक्ट रोकियो । एक वर्षको ब्रेक मैले चाहेर लिएको होइन, परिस्थितिले हो ।’ दर्शकले आफूलाई लभर ब्वाईको भूमिकामा मात्र रुचाउनुलाई उनी मायाको रुपमा लिन्छन् ।
चकलेटी भूमिकाबाट बाहिर निस्कन नसकेको आरोपबारे उनी भन्छन्, ‘मैले यसलाई आरोपभन्दा पनि मायाको रुपमा लिएको छु । मलाई दर्शकले लभर ब्वाईकै रुपमा रुचाउनुभएको छ । बीचमा मैले अन्य जनराका चलचित्रमा भिन्न भूमिका पनि निर्वाह गरेको थिएँ । तर, ती चलचित्रले सफलता पाएनन् । यसैले दर्शकले मलाई जुन चिजमा रुचाउनुभएको छ त्यसलाई नै निरन्तरता दिएको हुँ ।’
प्रतिकृया दिनुहोस्