September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

आठ महिनापछि परीक्षा दिन पाउँदा…

काठमाडौं : कोभिड–१९ का कारण आठ महिनासम्म विश्वविद्यालय, स्कुलका सबै परीक्षा रोकियो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेसँगै वैशाखबाट  रोकिएको विद्यार्थीले दिन पाएका छन।

लामो समयदेखी परीक्षा रोकिए पनि अन्ततः भौतिक उपस्थितिमै परीक्षाहलमा परीक्षा दिन पाउँदा परीक्षार्थी खुसीले दंग छन्। कक्षा–१२ को परीक्षा दिइसके पछि जोरपाटी स्थित कुटुम्ब कलेजका विद्यार्थी पार्वती थापाले भनिन,‘धेरै महिनापछि यसरी परीक्षा हलमै परीक्षा दिन पाउँदा एक दमै खुशी छु। साथीहरुसँग भेट्ने मौका पनि मिल्यो।’

बारा जिल्ला घर भई गोकर्ण हनुमान चोकमा बस्दै आएकी पार्वती आज अनिवार्य अग्रेंजीको परीक्षा दिएकी छिन्। ‘मैले सकेसम्म परीक्षाको राम्रै तयारी गरेर परीक्षा दिएकी छु,’उनले हास्दै भनिन,‘ अब के हुन्छ रिजल्ट आएपछि थाहाँ हुन्छ।’

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नै कलेज प्रशासनले परीक्षाको व्यवस्था गरेकोले परीक्षा दिन पनि सहज भएको उनले सुनाइन। त्यही कलेजका सिर्जना सिलवाल पनि पहिला जस्तै परीक्षा हलमा परीक्षा दिन पाउँदा उनी पनि दङ्ग छिन्। 

​ ‘कहिले परीक्षा दिन पाइएला भन्दै चिन्तित थिए,’मुलपानीमा बस्दै आएकी सिर्जनाले भनिन,‘बल्ल परीक्षा दिन पाए। भौतिक उपस्थितिमा परीक्षा दिन पाउँदा निक्कै खुशी छु। मैले पढेकै प्रश्न आएको रहेछ छ। झन खुसी भए।’

लामो समयपछि साथीहरुसँग भेट्न पाउँदा धेरै रमाइलो भएको पनि उनी बताउँछिन्।​ उनले भनिन,‘परीक्षा हुने जानकारी भएपछि राम्रैसँग परीक्षाको तयारी गरेको छु।’ कोरोना संक्रमणको उच्च जोखिम भएपनि उनले सकेको जति आफ्नो स्वास्थ्य सुरक्षा गरिरहेको उनी बताउँछिन्। 

बौद्धस्थित, बौद्ध फूलबारी स्कुलका परीक्षार्थी कल्पना कार्कीले पनि आठ महिनापछि परीक्षा दिन पाउँदा धेरै खुशी भएको सुनाउँछिन्। ​‘कलेजले एक बेन्चमा एक जना मात्रै राखेको थियो,’उनले भनिन,‘परीक्षा राम्रो सँग नै दिइयो। साथीसँग कुरा गर्न पाउँदा झनै खुशी छु।’ 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा–१२ को परीक्षा दिँदै छन्। परीक्षा दिन समस्या भएका विद्यार्थीका लागि पायक पर्ने ठाउँबाट पनि परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ।बोर्डका अनुसार देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। परीक्षा शनिबार पनि सञ्चालन भइ यही मंसिर १६ गते सकिने छ।

गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो। परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्।thahakhabar

शीर्ष समाचार

धेरै पढिएको