November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार
KN hd tv

नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक : सीमापार जयनगर–कुर्था रेलमार्ग सञ्चालनबारे छलफल

काठमाडौं–रेलमार्ग सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक आज भिडियो कन्फरेन्समार्फत् सम्पन्न भएको छ।

भारतको रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए भने नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले गरेका थिए।

बैठकमा भारतका तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय दूतावास, कोंकण रेलवे तथा आइक्यानका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो भने नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धकलगायत नेपाल सरकार गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो।

बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको छ। यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गरेका छन्।

त्यस्तै बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुबाहक रेल सेवालाई सुचारु गर्नका निमित्त आवश्यक पर्ने स्टान्डर्ड अपरेटिङ कार्यविधीको बारे पनि चर्चा भएको छ।

तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई ३८० करोड भारूभन्दा बढी लागतमा भारत सरकारले ब्रोड गेजमा स्तरोन्नति गरेको हो । यस रेलवे लिङ्कमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा डिइएमयू  रेल सेट खरिद गरेको छ ।
 हाल भारत सरकारले २०० करोड भारुमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय गर्नेबारेसमेत छलफल भएको थियो। 

३७४ करोड  भारू अनुदान सहयोगअन्तर्गत भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन दुवै पक्षले सहमति जनाएका छन्। रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति  गरेका छन।  दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई सुदृढ पार्न आपसी सहयोगलाई निरन्तरता दिन सहमत भएका छन्।nepallive

शीर्ष समाचार

धेरै पढिएको