खेलकुद गतिविधि गर्न दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं – बिहीबार मन्त्रिपरिषदले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन्। लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन्।
करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयले राहत मिलेको छ। सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका छन्। शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए। बक्सिङ प्रशिक्षक तेज बहादुर थापा मगरले मन्त्रिपरिषद निर्णयले आफूहरु खुसी भएको बताए।
उनले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मिहिनेत गरेर राष्ट्र र व्यक्तिगत रुपमा सफलता हात पार्ने बताए।
सेमिकभर्ड हलमा उसुका खेलाडी पनि अभ्यास फर्किन वार्मअप गर्दै दिए। सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरु ढुक्क थिए। अभ्यासमा व्यस्त मध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखी सबै पूर्वाधार व्यवस्था गर्नुपर्ने बताए।
यस्तै, राष्ट्रका लागि पदक दिलाएकी निमा घर्ती मगरले पनि लकडाउनपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताए।
यी प्रतिनिधि खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन्। अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन्। तर त्यती सहज अवस्था भने छैन। फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधि लगायतका अन्य प्रतियोगिता तपशिल नै छन्। त्यसका लागि गर्नु पर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नुपर्ने अवस्था आएको छ।
प्रतिकृया दिनुहोस्