प्रधानमन्त्री निवासमै अत्यधुनिक हेलिप्याड
काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्यधुनिक हेलिप्याड निर्माण गरिएको छ। हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो। प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हवाई मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको बताए। उनका अनुसार हेलिप्याड निर्माणका लागि प्राधिकरणले प्राविधिक सहयोग गरेको छ।
हेलिप्याड प्राधिकरणको प्राविधिक सहयोगमा नेपाली सेनाले तयार पारेको हो। सो हेलिप्याडमा अहिले नेपालमा सञ्चालनमा रहेको सबैभन्दा ठूलो हेलिकोप्टर ‘एमआई १७’ सम्म क्षमताका बस्न सक्ने जनाइएको छ।
प्रतिकृया दिनुहोस्