कोरोनाले पुल बन्द : रातिराति नदी तरेर भारत पस्छन् नेपाली
दार्चुला – खेतबारीको काम सकियो। सधैं खेतबारीको काम सकेर रोजगारीका लागि भारतका सीमावर्ती क्षेत्रमा मजदुरीमा जाने लेकम गाउँपालिका–४ का ३४ वर्षीय हरिष (स्रोतको अनुरोधमा नाम नखुलाइएको) यो वर्ष रोजगारीका लागि भारत जान सकेका छैनन्।
उनी जस्तै पचासौं युवा खेतबारीको काम सकेर बर्सेनि मजदुरीका लागि सीमावर्ती भारतीय क्षेत्रमा जाने गर्दथे तर यो वर्ष कोरोनाका कारण सीमा (नदी) जोड्ने पुलहरु बन्द हुँदा उनीहरु भारत जान पाएका छैनन्।
कोरोनाको कारण गत चैतमै घर फर्किएका हरिषजस्तै कयौं युवा भारत जान सकेका छैनन्। ‘भारतबाट कमाएको घर खर्चमै सकियो, नेपालमा मजदुरी गर्न पाइँदैन, कसरी घर खर्च चलाउने ?’ उनी दुखेसो पोख्छन्।
तर सबैको अवस्था हरिषको जस्तो छैन। नेपाली युवा लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जौलजिवी (महाकाली नदी किनारका बस्तीहरु) बाट रातिराति ट्युबबाट भारत छिर्ने गरेको तथ्य खुलेको छ।
हरिषलाई पनि राति महाकाली तरेर भारत जाने प्रस्ताव नआएको होइन तर भारततिर भारतीय सीमा सुरक्षा बलको हात परे नराम्ररी पिटाइ खानुपर्ने डरले उनले भारत पस्ने दुस्साहस गरेनन्। ‘कयौं मानिसहरु रातिराति नदी तरेर भारत जान्छन् तर म गएन, कुनै दिन पुल खुले काम खोज्न भारत जान्छु,’ उनले भने।
कोरोना प्रभावका कारण लामो समयदेखि नेपाल–भारत जोड्ने सीमानाका बन्द रहेको अवस्थामा राति ट्युबबाट नेपाल–भारत आवतजावत भइरहेको भारतीय सञ्चार माध्यमहरुले पनि समाचार बनाउन थालेका छन्। महाकाली नदीको पानी वर्षादको भन्दा निकै कम रहेकाले नदीबाट राति ट्युबबाट नेपाल–भारत आवतजावत भइरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ।
नेपालको बाकु र भारतको द्वालसेरा क्षेत्रमा महाकाली नदीमा राति ट्युबबाट सीमापार गर्ने तथा अवैध सामानको तस्करी भइरहेको भारतको द्वालसेराका ग्राम प्रधान प्रेम रामले जानकारी दिएका छन्।
गत मंगलबार राति मात्रै करिब २० जना नेपाली ट्युब तरेर रातिको समयमा भारत पसेका ग्राम प्रधानको दाबी छ। राती ट्युबबाट आवत जावतले कोरोना संक्रमणको जोखिम बढाएको पनि बताइएको छ।
हालसम्म ट्युबबाट हुने आवतजावत सुरक्षाकर्मीको नजरमा नपरेको र आवतजावत गरेको पाइएमा कडा कारबाही गरिने पिथौरागढ प्रहरी प्रमुख एसपी प्रीति प्रियदर्शनीले सञ्चार माध्यमहरुलाई प्रतिक्रिया समेत दिएका छन्।
निर्माण कार्यहरु सञ्चालन गरिएकाले भारतीय ठेकेदारहरुले नेपाली कामदारसँग सम्पर्क गरी बोलाउने गरेका सीमा क्षेत्रका नेपालीहरु बताउँछन्। नेपालमा रोजगारीको अवसर न्यून रहेकाले नेपाली कामदारहरु कामको खोजीमा पनि हिउँद सिजन सुरु भएसँगै भारत जान थालेका हुन्।
उत्तराखण्डको बेरिनायग क्षेत्रमा काम सञ्चालन भइरहेकाले नेपाली कामदारहरुलाई बोलाएको जौलजिविका अर्का स्थानीय बताउँछन्। नाम नबताउने ती स्थानीयले कामको सिलसिलामा भारत जाने तयारी गरेको बताएका छन्।
‘नाका खुलेका बेला नाकाबाटै जाने तयारी छ, जान दिएन भने महाकाली नदीमाथिबाटै पनि जानुपर्ने बाध्यता छ’, उनले भने, ‘स्वदेशमा रोजगारीका अवसर न्यून छ, भारत जानुपर्ने बाध्यता छ।’
भारतले नेपाल–चीन सीमासम्मको सडक विस्तार गरिरहेकाले उक्त क्षेत्रमा पनि कामदार आवश्यक रहेकाले नेपाली कामदारहरुलाई भारतीय ठेकेदारले बोलाउने गरेका छन्। केही नेपाली कामदार अघिल्लो महिना उक्त सडकमा काम गर्न गएका छन्। सीमा नाका बन्द रहेकै बेला नेपाली कामदारहरु उक्त सडकमा काम गर्न गएका हुन्।thahakhabar
प्रतिकृया दिनुहोस्