April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
KN hd tv

जो बाइडेनले जित्नलाई ६ इलेक्टोरल भोट आवश्यक, धाँधलीको आरोपमा ट्रम्पले हाले मुद्दा

एजेन्सी- अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै उच्च प्रतिस्पर्धा देखिँएको छ ।

राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक पर्ने २७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि छन् ।

पछिल्लो परिणाम अनुसार डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले २६४ र रिपब्लिकन उम्मेदवार एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २१४ इलेक्टोरल मत ल्याएको फक्स न्यूजले जनाएको छ ।

जित नजिक पुगेका डेमोक्र्याटिक उम्मेदवार बाइडनले आफूले जित्नेमा ढुक्क रहेको बताएका छन् ।

बहालवाला राष्ट्रपति एवं रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् ।

पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडेनले आज बिहान सम्बोधन गर्दै भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’

सम्बोधनको क्रममा बाइडेनले आफू जितको दिशामा रहेको बताए । उनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए । उनले चुनावी अभियानको क्रममा पनि मत दिनेका लागि मात्रै नभएर सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताउँदै आएका थिए ।

‘हामी जितेमा राता र नीला राज्यहरू हुनेछैनन्, मात्र संयुक्त राज्य अमेरिका हुनेछ,’ उनले थपे।

ट्रम्पले भने मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाउँदै अदालतमा मुद्दा हालेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्टपतीय निर्वाचनको मत गणना तत्काल स्थगित गर्न माग गर्दै अदालतमा मुद्धा दायर गरेका छन्।

ट्रम्प क्याम्पेनका तर्फबाट मिसिगन राज्यको मत गणना स्थगित गर्न आदेशको माग गर्दै मुद्दा दायर गरिसकिएको छ ।

पेन्सिलभेनिया राज्यको मत गणना चलिरहदा त्यहाँ पनि स्थगित गर्न माग गर्दै अदालत जाने तयारी भएको ट्रम्पको अभियानले जनाएको छ ।

राष्टपति निर्वाचनमा मत गणना जारी रहंँदा केही राज्यहरुमा विपक्षी जो वाइडेनले झिनो मतान्तरले अग्रता लिन थालेका छन् ।

अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका राज्यहरुमध्ये विसकन्सनमा वाइडेन विजयी भएका छन् ।मिचिगन राज्यमा ९५ प्रतिशतभन्दा बढी गणना भइसक्दा वाइडेन एक प्रतिशत मतले अगाडि देखिएपछि ट्रम्पका तर्फबाट मतगणना स्थगित गर्न मुद्दा दायर भएको हो ।

, मतगणना पारदर्शी नभएको आरोप लगाउंदै उनले मिसिगन अदालतमा मुद्दा दायर गरेका हुन् ।  अमेरिकी समाचार संस्था सीएनएनले मिसिगनमा वाइडेनले जित हासिल गरेका छन् ।

पराजित भइसकेको विसकन्सिनमा पनि ट्रम्पले मत गणनाको माग राखेका छन् । पेन्सिलभेनियामा हालसम्म ट्रम्पले नै अग्रता लिएका छन् । तर, बाइडेनले ट्रम्पलाई भेट्टाउनै लागेपछि ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ।

अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन्।

अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोप नामक संस्थाले ट्रम्पको चुनावी अभियान समूहका आरोपहरूलाई ‘आधारहीन’ भन्दै त्यसले ‘लोकतान्त्रिक संस्थाप्रतिको विश्वासमा आघात पुर्‍याएको’ जनाएको बीबीसीले उल्लेख गरेको छ।

सबैभन्दा बढी इलेक्टोरल सिट रहेको टेक्सासमा भने ट्रम्पले जितेका छन्। टेक्सासमा ३८ इलेक्टोरल सिट छ। २९ सिट रहेको न्यूयोर्क भने बाइडेनले जितिसकेका छन्।

यसपटक अग्रिम मतदान गर्ने प्रबन्ध तथा हुलाकबाट धेरै मतदान भएकाले प्रारम्भिक नतिजाले मात्र अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन ।

अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि-दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३-३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९-२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०-२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।

फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् ।

अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।

जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आ-आफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ ।

राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको