March 22, 2023, Wednesday
२०७९ चैत्र ८, बुधबार
KN hd tv

धर्मकर्ममा अभिनेत्री नीता ढुंगाना

बाल्यकालदेखि अभिनयमा सक्रिय रहेकी अभिनेत्री नीता ढुंगानाले दुई दशक लामो फिल्म करिअरमा आशातित सफलता हासिल गर्न सकेकी छैनन् । ‘६ एकान ६’ बाहेक उनी सोलो अभिनेत्री रहेका फिल्म व्यावसायिक रुपमा असफल छन् । यद्यपि, उनको अभिनयको भने चर्चा हुने गरेको छ । राष्ट्रिय पुरस्कार समेत जितिसकेकी उनी लकडाउनपछि धर्मकर्ममा सक्रिय देखिएकी छन् ।  धर्मकर्ममा ध्यान जान थालेपछि नीताले आफ्नै स्वरमा गणेश भजन रेकर्ड गराइन् ।

यसको भिडियो पनि उनले ठूलो लगानीमा आफ्नो प्रोडक्सन हाउसबाट निर्माण गरिन् । अब उनी २ करोडको लागतमा बेव सिरिज ‘श्रीमद्भगवत गीता’ निर्माण गर्दैछिन् । स्थिति सामान्य भएपछि यसको छायांकन गर्ने तयारीमा उनी छिन् । यसबाट पनि उनको धर्मकर्मप्रति रुचि बढेको बुझ्न सकिन्छ ।  दशैं मनाएर यतिबेला नीताले देशका विभिन्न स्थानमा रहेका मठ-मन्दिरको दर्शन गरिरहेकी छन् । केही दिन अगाडि जनकपुर पुगेर धार्मिक पर्यटकीय स्थल जानकी मन्दिरको दर्शन गरेकी उनले बुधवार हेटौंडामा रहेको शक्ति स्वरुपिणी माता भुटनदेवीमा पूजाआजा गरेकी छन् । काठमाडौंमा फर्किने क्रममा बाटोमा पर्ने विभिन्न मन्दिरहरुको पनि दर्शक गर्ने सोचमा उनी छिन् ।  कतिपयले उनको धर्मकर्ममा रुचि बढ्नुको कारण युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीलाई मानेका छन् ।

उनी गएको एक वर्षदेखि हरिहरको प्रेममा रहेको चर्चा छ । यद्यपि, दुवैले यो कुरालाई अस्वीकार गर्दै आएका छन् । धर्मकर्ममा ध्यान दिँदा मन शान्त हुने, एकाग्र हुने र मन खुशी हुने भएकाले आफूले मन्दिर जाने, ध्यान गर्ने र पूजा गर्न थालेको अभिनेत्री नीताको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको