September 29, 2022, Thursday
२०७९ आश्विन १३, बिहीबार
KN hd tv

‘कोरोनासँग डराइरहे पेट भरिँदैन, मजदुरी गर्नकै लागि शहर आयौँ’

काठमाडौं – जितेन्द्र दनुवारलाई परिवारसँगै बस्ने मन किन नहुँदो हो र? त्यो पनि चाडबाडका बेला ! तर, उनलाई परिवारसँग छुट्टिएर कोरोना हटस्पट बनेको काठमाडौंमा पुग्‍नुछ, त्यहाँ काम गरेर धेरैथोरै रकम जुटाएर परिवारकहाँ पठाउनुछ। काठमाडौंमा पाइने काम नै जितेन्द्रको परिवार पाल्ने आधार हो। 

सिन्धुुलीका जितेन्द्र पेशाले मिस्त्री हुन्‌। काठमाडौंमा ठडिएका अधिकांश ठूला-साना महलमा सीप र पसिना पोखेका छन्‌। यही कामले परिवारको भरथेग हुँदैथियो। गत वर्षदेखि फैलिएको कोरोना महामारीबीच पनि फाट्टफुट्ट काम पाइरहेका थिए। तर, यसबीचमा लाखौं मानिसहरूको रोजगारी गुमेकाले अब निर्माण क्षेत्रमा पनि लामो समयसम्म असर देखिने जोखिम छ। अझ, बीचैमा काम छाडेर हिँडेकाहरू समयमै नफर्किए त काम नै नपाउने पक्कापक्की छ।

दशैँ मान्न जितेन्द्र कात्तिक ६ गते घर गएका थिए। फेरी मजदुरी गर्नकै लागि कात्तिक १५ गते काठमाडौं फर्किए। शनिबार उनी बसबाट चावहिल चोकमा ओर्लिए। उनको एक हातमा झोला र अर्काे हातमा बोरा थियो। 

जितेन्द्रहरू गुजारा टार्ने विकल्प खोज्दै महामारीको घानमा फाल हानिरहेकै छन्‌। संक्रमित संख्या बढिरहेकाले काठमाडौं नआउन भनी विज्ञहरूले सुझाइरहँदा स्वास्थ्यभन्दा बढी चिन्ता भोको पेटको छ। त्यसैले त जितेन्द्र भन्छन्‌, ‘कोरोना जोखिम भएर के गर्नु, काम गर्ने थलो यही हो, आउनु नै पर्छ।’

यस्ता सुझाव मान्न जितेन्द्रहरूलाई सहज छैन। मान्ने हो भने त गाउँदेहातबाट काठमाडौं आउनै भएन/मिलेन/पाइएन। यसो हुँदा परिवार कसरी पाल्ने? हातमुख कसरी जोड्ने? सिंहदरबारमा खटिइनुपर्ने सरकारलाई बालुवाटारमा आराम गर्न जुन सुविधा छ, ज्यावल भिज्नेगरी पसिना बगाउनेहरूले कष्टसाध्य दु:ख नगरे मुखमा माड लाग्दैन नि!

गाउँठाउँ र देशमै युवाहरूलाई कमाइखाने ठाउँ पर्याप्त छैन। सरकारले बर्षेनी यति र उति रोजगारी सृजना गरेको भनिरहँदा जितेन्द्रहरूले आफू जन्मे-हुर्केको माटोमै पसिना बगाएर नियमित आम्दानी गर्ने अवसर कहिल्यै पाएका छैनन्‌। मजदुरी गरेर परिवार पाल्नेहरू सात देहात/सात खोला/सात डाँडा र सात समुन्द्रपारी भौंतारिँदैछन्‌। डराएर कतै नगए कोरोनाअघि नै भोकले प्राणपखेरू उडाउँछ।

गाउँघरबाट काठमाडौं नजान आफन्तजनले सुझाएकै हुन्‌। ‘गाउँघरका आफन्त, अरु मान्छेले काठमाडौंमा त धेरै कोरोना छ रे! भनेर नजानु भनेका पनि थिए। अब यहाँ नआएर हुँदैन, परिवार पाल्नै पर्छ,’ उनले भने। गाउँमा भने कोरोनाको त्रास नभएको उनी सुनाउँछन्। 

सिन्धुलीका सुरेश मगर भवन निर्माणमा सुपरभाइजर भएर काम गर्छन्। दशैँ मनाउन उनी कात्तिक ७ गते गाउँ गएका थिए। १५ गते फर्किए। शनिबार साँझ चावहिलमै भेटिएका सुरेशले भने, ‘काठमाडौं आउनु मेरो रहर होइन, काम गर्ने, परिवार पाल्ने पेशा अँगालेको थलो नै काठमाडौं हो, कोरोनाको जोखिमयुक्त ठाउँ भएपनि काम गर्नैपर्छ।’

बौद्धमा बस्दै आएका सुरेश कोरोना भन्दापनि बढी परिवार र आफ्नो पेट कसरी पाल्ने भन्ने चिन्तामा छन्‌। ‘कोरोनाबाट पनि बच्नैपर्छ, सँगै पेट भर्ने काम पनि गर्ने पर्‍यो। मास्क,पन्जा लगाएर भएपनि स्वास्थ्य सुरक्षा अपनाएर काम गर्नेछु,’ उनले सुनाए।

चावहिल चोकमै रमेश अधिकारी पनि परिवारसहित शनिबार साँझ बसबाट ओर्लदै गर्दा भेटिए। उनी ओखलढुंगाबाट काठमाडौं आएका हुन्‌। उनले पनि ज्यामी काम गरेर भएपनि जसोतसो शहरमै परिवार पाल्दै आएका छन्‌। गाउँमा बसेर गुजारा नचल्ने भएपछि शहर छिर्नैपर्ने उनको पनि बाध्यता हो।

उनी भन्छन्‌, ‘कोरोना भएपनि, जे रोग भएपनि काठमाडौं धाउनैपर्छ, यतै ज्यामी काम गरेर परिवार पालिरहेको छु। त्यसैले कोरोना जोखिम भएपनि दशैँ मनाउन गाउँ गएर फेरि फर्कियौँ।’

उनी  ६ वर्षदेखि इटा बोक्दै र बालुवा चाल्दै शहरमा बसिरहेका छन्‌। ‘कोरोनाको डर त छ नि!,’उनले भने, ‘तर कोरोना लाग्यो भने कसरी बच्ने र उपचार गर्ने थाहा नै छैन।’

अबदेखि सरकारले कोरोना उपचार नगर्ने र आफ्नै खर्चमा उपचार गर्ने निर्णय गरेपछि उनी चिन्तित बनेका छन्‌।thahakhabar

शीर्ष समाचार

धेरै पढिएको