देहरादूनमा कुटिएका नेपाली विद्यार्थीको तत्काल उद्धार गरः कांग्रेस
काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा कुटपिट गरिएका ५१ जनता नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ।
दशैँको टीकाका दिन आफ्ना नानीबाबुहरुलाई आश्रममा यातना दिएको जानकारी उनीहरुका अभिभावकहरूले सार्वजनिक गरेपछि कांग्रेसले सरकारसँग यस्तो माग गरेको हो।
आश्रममा रहेका नेपाली बालबालिकालाई यातना दिएको घटना सार्वजनिक भएपछि सरकारले आवश्यक छानविन थालेको जानकारी बुधबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएका छन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक वक्तव्य निकालेर देहरादूनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेका छन्।
‘भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भएको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य भइसकेको छ। दुवै देशका विद्यार्थी एकआपसका विभिन्न शहरमा अध्ययनरत छन्। विद्यार्थीलाई सुरक्षित र निर्भीक वातावरण दिनु दुवै देशको कर्तव्य मात्रै होइन, त्यो कुरा सुनिश्चित गर्ने अभिभारा दुवै देशका सरकारको पनि हो।’भारतमा अध्ययनरत विद्यार्थी कुटिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने पनि शर्माले बताएका छन्। ‘संसारमा कहीँ पनि नेपाली विद्यार्थी या अन्य नेपाली नागरिकमाथि दुर्व्यवहार र आक्रमणमा हुन्छ भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ,’ शर्माले अगाडि भनेका छन्, ‘अतः देहरादूनमा दशैँकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्छ। यस घटनामा विरोध जनाउँदै भारत सरकारको ध्यानाकर्षण गराउन पनि सरकारलाई आग्रह गर्छौं। कुटपिट गरिएका विद्यार्थीको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ।’
के थियो घटना ?
समाचार अनुसार देहरादूनको भगवान्तपुर, पुरकोल रोडमा रहेको शाक्य एकेडमीमा अध्ययनरत ५१ नेपाल विद्यार्थीलाई दशैँकै दिन कुटिएको थियो। अभिभावकहरूले कुटाइ खाएका धेरैजसो चोटग्रस्त रहेको बताएका छन्।
दशैँ मनाउन घर आउन खोजेका ती विद्यार्थीहरुलाई स्कुल सञ्चालकले यातना दिएको खुलेको छ। उक्त एकेडमीमा नेपालको हुम्ला, जुम्ला र सिन्धुपाल्चोकसहितका विद्यार्थीलाई अध्ययनका लागि राखिएको छ।
यसबारेमा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले एकेडमीमा राखिएका नेपाली बालबालिकालाई त्यहाँका लामाले खानाको विषय कठोर यातना दिएको बताएकी थिइन्।
उनले यो घटनाको वास्तविकता बुझ्न पनि सरकारलाई भनेकी छन्। ‘यो घटनाको वास्तविकता बुझ्न, सत्यतथ्य सार्वजनिक गर्न, भारत सरकारको ध्यानाकर्षण गर्न जरुरी छ,’ उनले भनेकी छन्, ‘घटनालाई लिएर भारत सरकारलाई विरोध जनाउन तथा विद्यार्थीको अविलम्ब उद्धार गर्न परराष्ट्र मन्त्रीमार्फत आग्रह गर्छु।’
त्यसपछि यस विषयमा सरकारले ध्यानाकर्षण भएको जनाएको छ। उक्त ट्वीटमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएका छन्। उनले नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने प्रक्रिया अघि बढिसकेको बताएका थिए।
यस विषयमा नयाँ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि चासो जनाएका थिए। उनले अन्सारीलाई नै जवाफ फर्काउँदै यसबारेमा दूतावासले खोजखबर लिने उल्लेख गरेका छन्। ‘यस विषयमा दूतावासले खोज खबर लिन्छ’, उनले भनेका छन्, ‘थप केही सूचना भए दूतावासलाई जानकारी गराउन अनुरोध छ।’
प्रतिकृया दिनुहोस्