September 29, 2022, Thursday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

कालिगण्डकी नदी नै सुकाएर विद्युत् निकाल्ने डरलाग्दो चलखेल

म्याग्दी – कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ।

वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध राख्ने गरी बेनी कालीगण्डकी जलविद्युत् आयोजनाले ५०.५३ मेगावाट क्षमताको आयोजना निर्माण प्रक्रियाका लागि आवश्यक चलखेल सुरु भएको हो।

विद्युत विकास विभागले आयोजनाको प्रस्तावित बाँधस्थलले धार्मिक महत्वको कालिगण्डकी नदीलाई सुकाएर निश्चित समूहलाई आर्थिक लाभ हुने आयोजना सञ्चालनको प्रयासलाई म्याग्दीका सरोकारवाला निकायले अस्वीकार गरेका छन्।

विभागले नगरपालिकालाई आयोजना निर्माणका लागि सहमति दिन पत्राचार गरेपछि कालिगण्डकीको पानी सुरुङमार्फत पर्वतको जलजला गाउँपालिका–४ शेराफाँटमा खसाली विद्युत् उत्पादन गर्दा कालिगण्डकीको धार्मिक, सभ्यता नै संकटमा पर्ने बेनी नगरपालिकाको दाबी छ। आयोजना पक्षलाई प्रक्रिया नै स्थगित गर्ने बेनी नगरपालिकाले बताएको छ।

‘आन्दोलनको आँधीबेहरी ल्याउँछाैं’

कुनै पनि हालतमा आयोजनालाई प्रक्रियामा जान नदिने निर्णय गरेको बेनीका मेयर हरिकुमार श्रेष्ठले बताए। कसैको स्वार्थमा आयोजना बन्न दिन्नौं, ‘कालिगण्डकी आसपासमा जलविद्युत आयोजनाको आवश्यकता छैन’, श्रेष्ठले भने। आयोजना पक्षले अटेर गरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले समेत आन्दोलनको आँधीबेरी ल्याउने उनले चेतावनी दिए।

कालीगण्डकीमार्फत धार्मिक, सांस्कृति, पर्यटकीय विकासको प्रचुर सम्भावना सदुपयोग गर्दै समृद्धिको बाटोमा हिँड्ने र यसको महत्वलाई पनि बचाइराख्न आवश्यक सबै शक्ति प्रयोग गर्ने चेतावनीसमेत जनप्रतिनिधिले दिएका छन्।

आयोजना पक्षको माग अनुसार नगरपालिकाले जिल्लाका सरोकारवालाबाट सुझाव संकलनको क्रममा कालिगण्डकी नदी, बेनीबजार र पर्वतबेनीको भविष्यलाई नै खतरामा पार्ने गरी आयोजनाको प्रक्रिया बढाउन नहुने भन्दै बेनी माथिको क्षेत्रमा बाँधस्थल परिवर्तनलाई समेत स्वीकार गर्न नसकिने अवस्था रहेको बताएका थिए।

भेलाले आयोजनाको बाँध राहुघाट जलविद्युत् आयोजनाको आउटलेटभन्दा माथि तिल्केनीमा राख्ने र कालिगण्डकीको २० प्रतिशत र रघुगंगाको शतप्रतिशत पानीलाई छाडेर मात्रै विद्युत् उत्पादन गर्ने सर्तलाई समेत अस्वीकार गरेपछि सोही निर्णयमा टेकेर बेनी नगर कार्यपालिकाको बैठकले नेपाल सरकार ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग लगायतका सरोकारवाला निकायलाई समेत दसैंलगतत्तै पत्र लेख्ने तयारीसमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए।

भेलामा सहभागीहरुले रघुगंगा र कालीगण्डकी नदीको दोभानदेखि तल र बेनी बजारदेखि माथि बाँध राखेर विद्युत उत्पादन गरेमा यसले बेनी, पर्वतको बगरफाँट, वारिबेनी लगायतका क्षेत्रको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले बताए।‘कालीगण्डकी एक नदीमात्र नभएर सभ्यता पनि हो, ‘कालीगण्डकी उस्तै हिसाबले बग्न दिनुपर्छ भन्ने सबैको राय छ’, सांसद थापाले भने। 

आयोजनाको विरुद्धमा सबै दल एकजुट

नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राप्रपा नेपालका अध्यक्ष विरबहादुर थापा, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले कालीगण्डकी नदीको वहाव परिवर्तन भए कालीगण्डकीसँग जोडिएका क्षेत्रमात्रै होइन, देशकै धर्म र आस्थामाथिको प्रहार हुने भएकाले स्थानीयको चाहना र भावनाअनुसार बाँधलाई माथि सारेर वातावरणीय क्षति कम हुने सुनिश्चित गरेर मात्रै आयोजनालाई सहमति दिनुपर्नेमा जोड दिए।

कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धि हुने र बजार क्षेत्रमा प्रदूषण बढ्ने खतरा भएकाले जवरजस्ती काम भए संघर्ष समिति बनाएर समेत रोक्ने चेतावनी दिएपछि आयोजना पक्ष समेतले समेत थप छलफलको हुने भन्दै तत्काल हटेको स्रोतले जनाएको छ।

गलेश्वर मन्दिरभन्दा १.२ किलोमिटर तल बेनपा ८ र जलजला गाउँपालिका २ को सिमानामा बाँध निर्माण गरी तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा रहने गृहमा खसालेर विद्युत् निकाल्ने गरी विभागले आयोजनाको प्रस्ताव गरेको छ। 

रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाइको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ।

आठ अर्ब २० करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको स्विकृतिको लागि प्रभावित क्षेत्रका स्थानीय तहहरुबाट विभागले सहमति खोजेपछि आयोजनाको मोडालिटी सार्वजनिक भएको थियो।

यता वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ मा ड्याम रहेको क्षेत्रबाट तल्लो क्षेत्रमा निकुञ्ज, संरक्षित क्षेत्र, घाट रहेमा २५ प्रतिशत पानी नदीमा नियमित बग्न दिनुपर्ने र अन्य साधारण क्षेत्रहरूमा भने १० प्रतिशत पानी नदीमा अनिवार्य नियमित बग्न दिने व्यवस्था भए पनि कालिगण्डकी नदीको हकमा त्यो सम्भव नभएको प्राविधिक पक्षको भनाइ छ।

कालीगण्डकी अथवा गण्डकी नेपालको दोस्रो ठूलो तथा संसारको सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो। नदीको तिब्बतमा उत्तरतिर भएर मुस्ताङ, म्याग्दी, पर्वत हुँदै बग्छ। मुस्ताङको कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने कागखोला र मुस्ताङ खोला मिसिन्छन्। उक्त नदीलाई कालीगण्डकी भनिन्छ।
त्यसपछि काली गण्डकी पूर्वतर्फ मोडिन्छ जुन देबघाटमा गएर सेती नदी तथा त्रिशूली नदी सँग मिसिएर दक्षिणतर्फ बहने गरेको छ।thahakhabar

शीर्ष समाचार

धेरै पढिएको