June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्दै

काठमाण्डौ – दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्दै गएको छ ।

विगतका वर्षहरुमा जस्तो काठमाण्डौ छोड्नेहरुको चाप र चहलपहल नभए पनि घटस्थापनादेखि गाउँ जानेहरुको संख्या भने केही दिनदेखि बढ्न थालेको हो । अहिले दैनिक २१ हजारको हाराहारीमा यात्रु बाहिरिने गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गएको २४ घण्टामा ४ हजार ४ सय ६० वटा गाडीमार्फत १६ हजार २ सय ७७ जना यात्रु काठमाण्डौ भित्रिएका छन् भने ४ हजार ६ सय ५८ वटा गाडीमार्फत २३ हजार ३ सय ९० यात्रु बाहिरिएका छन् । हिजो २१ हजार ५ सय ७३ यात्रु बाहिरिएका छन् । १७ हजार ३ सय जना काठमाण्डौ भित्रिएका छन् । घटस्थापनाको दिन कात्तिक एक गते २१ हजार ४ सय ७२ यात्रुले काठमाण्डौ छोडेका थिए ।

घटस्थापनाको दिन १६ हजार ६ सय यात्रु काठमाण्डौ भित्रिएको महाशाखाले जनाएको छ । अब फूलपातीसम्म बाहिर जानेको संख्या बढ्दै जाने र भित्रिनेको संख्या कम हुँदै जाने महाशाखाका प्रवक्ता प्रहरी निरीक्षक रामेश्वरप्रसाद यादवले बताउनुभयो ।

गएका वर्षहरुमा दशैँ सुरु हुनुभन्दा अगाडिदेखि नै बजारमा किनमेल गर्ने, गाउँघर जाने र काठमाण्डौ छिर्नेको भीडभाड हुने गर्थ्याे । कोरोना महामारीका कारण यो वर्ष गाउँघर फर्कने र उपत्यका छिर्नेको सख्या पनि तुलनात्मक रुपमा कम छ । काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या कम भएकाले अग्रिम टिकट बुकिङ्ग भने नखुल्ने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको