July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

‘स्थिर सरकार’ मा मन्त्री फेरिएका फेरियै

काठमाडौं- देशमा विकास नहुनुको कारण अस्थिर सरकार भएकाले आफूहरुले स्थिर सरकार बनाउने र विकास गर्ने विश्वास दिलाउँदै तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनले चुनावमा मत मागेका थिए। जनताले मत पनि दिए। तर, सरकार बनेको ३२ महिनामा एक दर्जन पटक मन्त्रिपरिषद् पुनर्गठन भइसकेको छ। प्रधानमन्त्री फेर्ने चर्चा पनि बेलाबखत चल्ने गर्छ।

बुधबार मन्त्रिपरिषद्‌मा केही नयाँ अनुहार थपिएका छन्। केहीको जिम्मेवारी हेरफेर गरिएको छ। २०७४ फागुन ३ मा गठन भएको  यो मन्त्रिपरिषद्‌मा बुधबारसमेत गरी ११औं पटक पुनर्गठन भएको छ।

२०७४ फागुन ३ मा गठन भएको मन्त्रिषरिषद्‌मा फागुन १४, चैत २, २०७५ जेठ १८, साउन १८, फागुन १६, २०७६ साउन १५, मंसिर ४ तथा फागुन ५, फागुन ८, फागुन २१ पनि हेरफेर गरिएको थियो। यी समयमा कुनैबेला नयाँ मन्त्री थपिएका छन्, कुनैबेला हटाइएका छन्, कुनैबेला प्रधानमन्त्री स्वयंले कुनै मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्।

मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनसक्ने संवैधानिक प्रावधान छ। रोचक के छ भने,  वर्तमान मन्त्रिपरिषद्‌मा कुनै बेला सदस्यकै रुपमा रहेका १५ सदस्य अहिले छैनन्। रवीन्द्र अधिकारी, शेरबहादुर तामाङ, मातृका यादव, रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणी खनाल, मोहम्मद इश्तियाक राई, गोकुलप्रसाद बाँस्कोटा, धनबहादुर बुढा, रामकुमारी चौधरी, डा सुरेन्द्रकुमार यादव र युवराज खतिवडा अहिले मन्त्रिपरिषद्‌मा छैनन्। उनीहरुमध्ये केही मन्त्रिपरिषद् पुनगर्ठन गर्दा बाहिरिए। केही विवादमा परेका कारण वा नपरे पनि राजीनामा दिएर बाहिरिए। एकजना मन्त्रीको मृत्यु भएको थियो।

केही मन्त्रालयमा निरन्तर मन्त्री हेरफेर भइरहेका छन्। जस्तो, सुरुवातमा शेरबहादुर तामाङले सम्हालेको कानुन मन्त्रालय भानुभक्त ढकाल (साउन २८, २०७५), उपेन्द्र यादव (मंसिर ४, २०७६), पुन ढकाल (पुस २५, २०७६) हुँदै अहिले शिवमाया तुम्बाहाङ्फे (फागुन ५, २०७६) ले सम्हालेकी छिन्। सहरी विकास, स्वास्थ्य र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि नयाँ नेतृत्व आएका र आउने छन्। मन्त्रीहरु बाहिरिने क्रम चलिरहँदा कैयौं मन्त्रालय प्रधानमन्त्रीकै जिम्मेवारीमा थपिने र कतिपय मन्त्रीलाई दोहोरो जिम्मेवारी पर्ने गरेको पनि छ।

मन्त्रीहरु बाहिरिने र जिम्मेवारी हेरफेर हुने क्रम चलिरहँदा मन्त्रालयका काममा सधैं अन्योल र तरलता देखिने गरेको छ। नयाँ मन्त्रीहरुले ‘मन्त्रालय बुझ्दै छु’ भन्ने गरेका छन्। यस्ता अभिव्यक्तिले स्थिरताभित्र अस्थिरताको संकेत गर्छन्।

सरकार पुनर्गठनको कारणले मात्रै होइन, सरकार गठन हुने बेलाको अवस्था, पार्टीभित्रको शक्ति संघर्ष, प्रधानमन्त्री ओलीको अनेक चाहना तथा बेलाबखत निम्तिने विशेष परिस्थितिको कारण पनि मन्त्रिपरिषद्‌मा हलचल आउने गरेको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावमा गठबन्धन गरे पनि मन्त्रिपरिषद् गठन हुने बेलासम्म दुई पार्टी एक भइसकेका थिएनन्। त्यसैले यी दुवै पार्टीले आपसी भागबण्डा र शक्ति सन्तुलनलाई ख्याल गरेर मन्त्रालयको बाँडफाँट गरेका थिए। त्यो एक किसिमको संयुक्त सरकारजस्तो थियो। मन्त्री भएका दुवै पार्टीका नेताहरुले सुरुवाततिर एउटै पार्टीको सरकार हो वा संयुक्त हो भन्नेमा अलमलमै रहेको बताउने गरेका थिए। त्यसको कारण थियो, पार्टी एकीकरण हुने मनोविज्ञान तयार भइसकेको थियो तर एकीकरण बाँकी थियो।

मन्त्रिपरिषद्लाई अस्थिर जस्तो देखाउने अवस्था नेकपाभित्रैको शक्ति सन्तुलनले पनि सिर्जना गर्‍यो। असारदेखि भदौसम्म चलेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पार्‍यो। त्यही कारण केही समययता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ। बुधबार गरिएजस्तो मन्त्रिपरिषद् पुनर्गठन पुनः हुने आँकलन छ।

पार्टीभित्रका शक्ति संघर्ष छँदैछन्। त्यसका अतिरिक्त संसदमा दुई तिहाइको शक्तिको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीको चाहना अनुसार तत्कालीन संघीय समाजवादी फोरम (२०७६ बैशाखपछि समाजवादी र २०७७ वैशाखपछि जनता समाजवादी पार्टी)लाई पनि मन्त्रिपरिषद्‌मा सामेल गराइयो। २०७५ जेठ १८ गतेको विस्तारसँगै सो पार्टीका उपेन्द्र यादव र मोहम्मद इश्तियाक राई क्रमशः उपप्रधान तथा स्वास्थ्य र सहरी विकास मन्त्री भए। साउन १८ गतेको सोही पार्टीका डा सुरेन्द्र यादव राज्यमन्त्री भए। एकल सरकार पुनः संयुक्त भयो।

फोरमलाई सरकारमा ल्याउनुअघि २०७५ जेठ १४ मा ओली, प्रचण्ड र यादवबीच दुई बुँदे सहमति भएको थियो। सोही सहमतिले सरकारलाई सधैं तनावमा राख्यो। गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा यादवद्वारा प्रस्तुत गर्न खोजिएको संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले रोकिदिएपछि सो पार्टीका तर्फबाट बाँकी मन्त्री उपेन्द्र र मोहम्मदले भोलिपल्टै सरकार छाडेका थिए। डा सुरेन्द्र भने मंसिर ४ गतेको मन्त्रिपरिषद् पुनर्गठनमै बर्खास्तीमा परेका थिए।source:Nepallive

शीर्ष समाचार

धेरै पढिएको