September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

नवनियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौँ-  नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ ।

राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार बिहान साढे ११ बजे हुने शपथ ग्रहणको तयारी पूरा भएको छ ।

कोरोनाको महामारीका कारण जमघटमा कडाइ गरिएकाले नआई नहुने व्यक्तिहरू बाहेक शपथग्रहणमा अरू कोही सहभागी नुहने राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, केही मन्त्रीहरूसहित सीमित पदाधिकारीहरु मात्रै शपथग्रहणमा सहभागी हुनेछन् ।

निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूलाई शपथग्रहणमा बोलाइएको छैन । नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि शपथ ग्रहणमा बोलाइएको छैन ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बिहान ८ बजेसम्म सपथ ग्रहणको कार्यक्रमबारे निम्ता आएको वा नआएको केही जानकारी नभएको बताए ।

‘कोरोनाकै कारण नबोलाइएको भए ठिकै हो,यस्तो बेला भीडभाड नगरेकै राम्रो’, उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले पनि बिहान ८ बजेसम्म शितल निवासबाट सपथग्रहणबारे केही जानकारी नआएको बताए । ‘हामीलाई केही जानकारी छैन, तपाईँहरूलाई जे सूचना छ त्यही सत्य हो,’ गौतमले भने ।

यद्यपि दाहाल र नेपाल जान चाहेमा शपथ ग्रहणमा रोकटोक नहुने स्रोतको भनाइ छ । दाहाल-नेपाल समूहले मन्त्रिपरिषद् पुनर्गठनमा ओलीले एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएकाले शपथ ग्रहणमा डाकिए पनि जाने सम्भावना कम रहेको उनीहरू निकट नेताहरूले जनाएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना मन्त्री थप्दै केहीको जिम्मेवारी हेरफेर गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको