प्रदेश ५ : नाम र राजधानीका लागि मतदान हुँदै
काठमाडौँ – प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदैछ। १ बजे सुरु हुने प्रदेश सभाको बैठकको सुरुमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुलाई बोल्ने समय उपलव्ध गराइने छ। प्रस्ताव उपर तीन वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ। संशोधनमा बोले लगत्तै मतदान प्रक्रिया सुरु हुनेछ।
नेकपाले सोमबारै आफ्ना सांसदहरुलाई प्रस्तावका पक्षमा मतदान गर्न ह्विप लगाएको हो। प्रदेशमा कुल सांसद संख्या ८७ हो। दुई तिहाइ बहुमतकालागि ५८ मत आवश्यक पर्छ। नेकपाका ६१,कांग्रेसका १९, जनता समाजवादीका ६ र राजमोका १ जना सांसद छन्।
नेकपाका ६१ मध्ये ६० जनाले प्रस्तावका पक्षमा मतदान गर्ने नेकपाका सचेतक भुमिश्वर ढकालले बताए। यसअघि रुपन्देही कपिलबस्तुका नेकपा सांसदले प्रस्ताव प्रति असन्तुष्टि जनाएपनि भित्री रुपमा यो प्रस्ताव ल्याउनु अघि नै प्रस्तावविरुद्ध कोही पनि नजाने र ह्विप लगाउने सहमती भइसकेको थियो। प्रस्ताव ल्याइएको भोलीपल्ट नै नेकपाकै एकजना सांसदले राजनीतिक बाध्यताका कारण सडक र सदनमा विरोधका आवाज उठाउनु परे पनि प्रस्ताव बिरुद्ध कोही नजाने कुरामा नेकपाका सबै सांसदहरु स्पष्ट रहेको बताएका थिए।
आजै बिहान मन्त्रिपरिषद बैठक बसेर रुपन्देही र कपिलबस्तुलाई पर्यटकीय र आर्थिक राजधानी बनाउने निर्णय गर्दै बुटवल पक्षधर सांसद र सडकमा उत्रेका जनतालाई फाकाउने प्रयास पनि मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन्।
प्रतिकृया दिनुहोस्