बुटवलमा चार दिन निषेधाज्ञा
बुटवल- प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा चर्किएको आन्दोलन रोक्न प्रशासनले चार दिनसम्म निषेधाज्ञा गरेको छ ।
स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि लागू गरेको निषेधाज्ञा यही २१ गते बेलुका ६ बजेसम्म जारी रहनेछ । निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न/गराउन रोक लगाइएको छ ।
पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गरे कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो ।
प्रदेशसभा भवन रहेको क्षेत्र दक्षिणमा इँटा भट्टीचोक, उत्तरमा कालीका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालीका मन्दिरदेखि इँट्टा भट्टीचोकसम्मको कालीका पथ क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै प्रदेश ५ का मन्त्रालय रहेका दक्षिणमा सुन्दर चोक, उत्तरमा भड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको शनिबार जारी गरिएको सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्