September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

बाढी प्रभावितका लागि डेढ करोड राहत संकलन

बागलुङ – ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो ।

कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । “राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ ।” उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत रु. २७ लाख ८० हजार सहयोग प्राप्त भएको छ ।

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पनि रु. १९ लाखबढी राहत रकम प्रदान गरेको थियो । बिहीबार मात्र प्रभु बैङ्कले रु. पाँच लाख सहयोग गरेको नगरपालिकाले जनाएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरप्रमुख नेपालीलाई पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको थियो । बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ । कतिपय व्यक्ति, संस्थाले नगरपालिकाको कोषमा जम्मा नगरी बाढीग्रस्त ठाउँमै पुगेर राहत बाँडिरहेका छन् ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् भने ढोरपाटन नगरपालिका–९, ८ र ७ का सयौँ परिवार घरबासविहीन बनेका छन् । सडक, पुल, खानेपानी, सिँचाइ, लघुजलविद्युत्, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइलगायत कैयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको