सत्य नै ईश्वर हो : महात्मा गान्धी
सन् १९१७ देखिसँगै रहेका स्वकीय सचिव एवम् सहयोगी महादेवभाई देसाईसँगै धर्मपत्नी कस्तुरबालाई सन् १९४२ को भारत छोडो आन्दोलनको उद्घोष गर्ने क्रममा पक्राउ परे। त्यस पटकको जेल बसाई गान्धीका लागि महंगो सावित हुनपुग्यो। देसाईको त्यस पटक जेल परेका बखत (सन् १९४२ अगस्त १५) मृत्यु भएको हो। उनको निधनले गान्धी अत्यन्त व्यथित भएका थिए। जेलमै देसाईको सदगति गनुपर्दा उनका लागि अर्को पीडा थियो। पुनास्थित आँगा खाँ प्यालेसभित्रै उनलाई दागबत्ती दिँदै गान्धीले ‘महादेव आजसम्म तिमी मेरो छोरो समान थियौं। तर आज म तिम्रो छोरो बनेर तिमिलाई दागबत्ती दिँदैछु’ भनेका थिए।
त्यो दृश्य आफैमा कारुणिक थियो। त्यसैगरी जेलभित्रै सन् १९४४ फेब्रुअरी १४ तारिखका दिन धर्मपत्नी कस्तुरबालाई गुमाउनु पर्यो। आगा खाँ प्यालेसभित्रको कम्पाउन्डभित्रै कनिष्ठ पुत्र देवदासले आमालाई दागबत्ती दिनु परेको थियो। त्यसबखत उनले ‘६२ वर्षदेखिसँगै खेल्दै आएकी साथीले छाडी गईं। जीवनमा सुखसयल दिन नसके पनि तिम्रो शाहदतलाई शक्तिमा रुपान्तरण गरेर देशवासीलाई स्वतन्त्रता दिलाउनेछु’ भनेका थिए। करिब २ वर्षको जेल सजाय पश्चात ६ मई १९४४ मा उनी रिहा गभए। पटक–पटक गरी जीवनमा उनी १२ पटक जेल परे। तर उनका लागि त्यस बखतको जेल बसाई महंगो साबित हुन पुग्यो।
सन् १९३१ मा आन्दोलनका बखत जवाहरलाल पिता मोतिलाललाई गुमाउनु पर्यो। १९३६ मा जवाहर पत्नी एवम् आन्दोलनकी स्वयंमसेवी कमलाको पनि निधन भयो। ७ अगस्त १९४१ मा गुरुबर रवीन्द्रनाथ टेगोरको निधन भयो। गान्धीलाई पहिलो पटक महात्माका उपाधि दिने उनै टेगोर थिए। आन्दोलनका हस्ती जमनलाल बजाजको सन् १९४२ फरवरी ११ मा हृदयाघातबाट निधन भयो। बजाजलाई गान्धीले पाँचौ पुत्र बनाएका थिए। बजाज पनि आफूलाई गान्धी पुत्र मान्थे। गान्धीकै प्रभावले बजाज राजनीतिमा होमिएका थिए। बजाज १९२२ देखि १९४२ सम्म उनी कांग्रेस पार्टीको कोषाध्यक्ष रहिरहे। निकटजनको शोकलाई शक्तिमा रुपान्तरण गर्दै गान्धीले आन्दोलनलाई निरन्तरता दिइरहे।
१२ पटकसम्म जेल
दक्षिण अफ्रिकामा उनी ६ पटकसम्म जेल परेका थिए। भारत आगमनपश्चात् पनि ६ पटक जेल परे। उनी दक्षिण अफ्रिकामा पहिलो पटक १० जनवरी १९०८ मा जेल परेका थिए। ट्रान्सवाल भन्ने स्थनमा पहिलो पटक जेल पर्दा उनी १ महिनामा रिहाइ भएका थिए। दोस्रो पटक २५ फ्रेबुअरी १९०८ मा उनी जेल परे। तेस्रो पटक २५ फेब्रुअरी १९०९ मा जेल परेका उनी तीन महिनामा रिहा भएका थिए। त्यसपछि उनी सन् १९१३ मा पटक-पटक गरी तीन पटक गिरफ्तार र रिहा भए। त्यसपछि उनी २१ वर्षको बसाई अन्त्य गर्दै सन् १९१५ मा भारत फर्किए।
स्वतन्त्र भारतमा १ सय ६८ दिन मात्र जीवित
सन् १९४२ कै अगस्त ९ मा गान्धीले बम्बईमा भारतीय कांग्रेसको बैठक डाके। बैठकबाट ‘करो या मरो’ भन्ने नारा दिँदै भारत छोडो (क्विट इन्डिया) आन्दोलनको उद्घोष गरे। अन्ततः त्यही आन्दोलनले निरन्तरता पायो। १५ अगस्त सन् १९४७ भारत स्वतन्त्र हुन पुग्यो।
स्वतन्त्र भारतमा उनी मात्र १ सय ६८ दिन मात्र बाँचे। ३० जनवरी सन् १९४८ का दिन एक अतिवादी हिन्दूको गालीबाट उनको हत्या हुन पुग्यो। हत्यारा नाथुराम गोड्सेलाई देवत्वकरण गर्नेहरू पनि भारतमा छन्। मरणोपरान्त पनि गान्धीप्रति दोष र रोष प्रकट गर्नेहरू पनि छन्। हत्यारा गोड्सेलाई देवत्वकरण गर्नेहरूलाई गान्धीवादीको एउटै जवाफ छ, ‘गान्धी न गोलीले मरेका छन्। न त मर्नेछन्। विश्वजगतलाई अहिंसाको सन्देश दिन सफल संर्घर्षशील योद्धा उनै गान्धीको आज २ अक्टोबरमा १ सय ५१औं जन्मजयन्ती हो। संयुक्त राष्ट्र सन् २००७ बाट उनको जन्म जयन्तीलाई विश्व अहिंसा दिवसका रुपमा मनाउँदै आएको छ। भारतका राष्ट्रपिता घोषित गान्धी भारतका मात्र नभएर विश्वजगतका लागि समादरणीय बनेर युगौंयुग बाँचिरहने छन्। जय गान्धीवाद!
प्रतिकृया दिनुहोस्