September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

पर्यटकीय क्षेत्र सञ्चालन गर्ने तयारीमा स्थानीय तह

काठमाडौँ छ महिना लामो बन्दाबन्दीले थला परेको पर्यटन क्षेत्रलाई सञ्चालन गर्न स्थानीय तहले काम थालेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण बन्द पर्यटन क्षेत्रमा स्थानीय तहले आन्तरिक पर्यटकका लागि आवश्यक पूर्वाधारको मर्मतसम्भारसहितका काम शुरु गरेका हुन् । कैलालीका पूर्वी तथा दक्षिण पूर्वी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रमा बन्दाबन्दी खुला भएसँगै सार्वजनिक यातायातका साधन शुरु भएपछि स्थानीय नागरिक, होटल व्यवसायी पनि पर्यटकीय क्षेत्र सञ्चालन गर्नुपर्ने भनी स्थानीय सरकारसँग समन्वयमा जुटेका छन् ।

टीकापुर नगरपालिकास्थित टीकापुर उद्यान छ महिनादेखि पूर्णरूपमा बन्द छ । नयाँ वर्षका समयमा आन्तरिक पर्यटकको भीड थेग्न नसक्ने अवस्था रहने टीकापुर उद्यान यस वर्ष सुनसान रह्यो । वर्षभरि आन्तरिक पर्यटकको भीडभाड रहने उद्यानको प्रवेशद्वार अझै खुला भएको छैन । उद्यानका वनस्पति पतझडमा परिणत भएका छन् । उद्यानमा आन्तरिक पर्यटक आउने गरे पनि प्रवेशद्वार बन्द हुँदा त्यहाँबाटै पर्यटक फर्कने गरेको उद्यान व्यवस्थापनमा खटिएका कर्मचारी विनोद चौधरी बताउनुहुन्छ ।

नगरपालिकाको आन्तरिक राजश्वको मुख्य हिस्सा ओगट्ने टीकापुर उद्यान आफैँमा पनि टीकापुर क्षेत्रको गौरव हो । “चैत ११ गतेदेखि ढोका बन्द छ । केही आन्तरिक पर्यटक आउने गरेका छन् तर हामी तिनलाई प्रवेशद्वारबाटै फर्काइदिन्छौँ”, चौधरीले भन्नुभयो, “कार्यरत कर्मचारी नियमितरूपमा उद्यानमा आउँछौँ र, फर्कन्छौँ ।” सरकारले पर्यटकीय क्षेत्र खुला गर्ने तयारी गरेसँगै टीकापुर नगरपालिकाले पनि पर्यटकीय क्षेत्रको मर्मतसम्भारको काम शुरु गरेको छ । लामो समयदेखि उजाड बन्दै आएको टीकापुर उद्यानमा ४० कामदारले सरसफाइका काम गर्दै आइरहेका छन् ।

“हामीले सरसफाइको कामलाई निरन्तरता दिएका छौँ”, चौधरीले भन्नुभयो, “नगरपालिकाले टिकट खुला गर्ने आदेश नदिएसम्म सरसफाइ भए पनि अवलोकनका लागि कसैलाई उद्यानभित्र प्रवेश गराउन सकिने अवस्था छैन ।” आर्थिक वर्ष २०७५÷७६ मा टीकापुर उद्यानले पर्यटक प्रवेश गरेको टिकटवापत करीब रु ४८ लाख राजश्व सङ्कलन गरेकामा गत वर्ष करीब रु ३६ लाख मात्र राजश्व सङ्कलन भएको जनाएको छ ।

त्यसैगरी पर्यटकका लागि महत्वपूर्ण मानिने डल्फिन क्षेत्रमा पनि पर्यटकको आवागमन बढ्न थालेको छ । वर्षायामका समयमा बढी भीडभाड हुने डल्फिन क्षेत्रमा गत वर्ष जस्तो पर्यटकको चहलपहल देखिएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको