कांग्रेसलाई संसदको विशेष अधिवेशन माग गर्न आफ्नो मात्रै संख्याले पुगेन्
काठमाडौं–नेपाली कांग्रेसलाई संसदको विशेष अधिवेशन माग गर्न आफ्नो मात्रै संख्याले नपुग्ने भएको छ।
तीन दिनअघि बसेको पदाधिकारी बैठकले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको थियो। संविधान अनुसार प्रतिनिधि सभाका एक चौथाई सांसदले लिखित रुपमा अनुरोध गरेमा अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
संविधानको धारा ९३ को उपधारा (३) मा विशेष अधिवेशनको माग गर्ने व्यवस्था छ। ‘राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ,’ संविधानमा भनिएको छ।
संविधान अनुसार संसदको विशेष अधिवेशन बोलाउन माग गर्न ६९ जना आवश्यक पर्दछ। कांग्रेसका प्रतिनिधि सभा सदस्य ६३ जना छन्। तीमध्ये विजयकुमार गच्छदार र मोहम्मद आफ्ताव आलम निलम्बित रहेकाले अपुग ८ जनाका लागि कांग्रेसले अर्को प्रतिपक्ष दल जनता समाजवादी पार्टीसँग सहकार्य गर्नुपर्छ।
असोज १९ गते बस्ने केन्द्रीय समिति बैठकमा संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने सम्बन्धमा पनि छलफल हुने सहमहामन्त्री डा प्रकाशशरण महतले बताए। केन्द्रीय समितिले संसदीय दललाई विशेष महाधिवेशनको माग गर्न निर्देशन दिने भएको छ।
प्रतिकृया दिनुहोस्