रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?: प्राधिकरण
काठमाडौं – गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो ।
दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै विकल्प थियो, न त भारत नै पठाउन सकिने अवस्था । अहिले पनि राति केही घण्टा २०० मेगावाटसम्म बिजुली खेर गइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला राति खेर गइरहेको बिजुली अहिले सबभन्दा चिन्ताको विषय बनेको बताउँछन् ।
पछिल्लो सयममा वितरणलाइनमा आएको समस्या समाधानमा केन्द्रित भएको प्राधिकरणलाई अब केही महिना खपत र निर्यात नभएर खेर जाने बिजुलीको व्यवस्थापन समस्याको विषय बन्ने देखिएको छ ।
गत हप्ता भएको वर्षापछि नदीहरुमा पानीको सतहसँगै बिजुलीको उत्पादन बढेको छ । देशभित्र उत्पादन बढेकाले भारतबाट आउने बिजुलीको परिमाण घटेको छ ।राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले अहिले पनि लाखौं युनिट बिजुली खेर गइरहेको छ । वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढ्ने प्राधिकरणका अधिकारीहरु बताउँछन्
लकडाउनपछि कलकारखाना, होटल पूर्णक्षमतामा चल्न सकेका छैनन् । यसले गर्दा विद्युत माग बढ्न सकिरहेको छैन ।
प्रतिकृया दिनुहोस्