मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुली गर्ने पक्राउ
काठमाडौं–मलेसियामा कामदारलाई बन्धक बनाई रकम असुली गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
तेह्रथुम सोल्मा गाविस ८ घर भइ मोरङको सुन्दरपुर ५ बस्ने दुर्गाबहादुर श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। उनलाई पानीपोखरीतर्फ गइरहेको अवस्थामा कान्ति बाल अस्पतालस्थित सडकबाट पक्राउ गरिएको हो।
श्रेष्ठ मलेसियास्थित ‘टप ग्लोभ’ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्ने व्यक्ति भएको जनाइएको छ। श्रेष्ठसहित उनकी श्रीमती धनमाया श्रेष्ठ र उनको ड्राइभर श्याम नेपालीसमेतले मलेसियामा काम गर्ने दाङ १५ बस्ने मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई पीडितकी श्रीमतीलाई फोन गरेर रकम माग गरेका थिए।
उनले ६० हजार रिंगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने भनी धम्की दिएको र पीडितकी श्रीमतीले फिरौतीवापत १५ लाख ९२ हजार आफ्नो खातामा हालेपछि मात्र रैदासलाई मुक्त गरेको प्रहरीको भनाइ छ। श्रेष्ठले रैदासलाई मुक्त गरेपनि राहदानी आफ्नो कब्जामा लिई नेपाल आउनसमेत नदिई अघोषित रुपमा हालसम्म बन्धकजस्तै बनाएको बताइएको छ। उनी नेपाल आएको गोप्य सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो।
प्रतिकृया दिनुहोस्