विद्यार्थीलाई सहुलियत दरमा इन्टरनेट
काठमाण्डौ – कोरोना महामारीका कारण धेरै शिक्षण संस्थाहरु बन्द छन् । अनलाइन माध्यमबाट पठनपाठन भइरहेको छ ।
पहुँच भएका परिवारका बालबालिकाले अनलाइन कक्षा लिइरहेका छन् । तर इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीहरुले अनलाइन कक्षा लिन पाएका छैनन् । इन्टरनेटको पहुँच भएका विशेषगरी शहरी क्षेत्रका अभिभावकले महँगाे शुल्क तिरेरै भए पनि छोराछोरीलाई अनलाइन कक्षा पढाउन घरमा इन्टरनेट सुविधा लिइरहेका छन् ।
इन्टरनेटको सुविधा नपुगेको तथा सुविधा भएर पनि कमजोर आर्थिक अवस्थाका कारण इन्टरनेट जोड्न नसकेकाहरुको सिकाइ सहजीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ ।
मन्त्रालयले ’विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गराएको थियो । त्यही निर्देशिकामा आधारित भएर सेवा प्रदायकसँगको समन्वयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । सेवा प्रदायकमध्ये नेपाल टेलिकमले सीयूजी सिम उपलब्ध गराउन सक्ने जनाएको छ ।
अरु सेवा प्रदायकसँग मन्त्रालयको छलफल चलिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख डाक्टर तुलसी थपलियाले जानकारी दिनुभयो । केन्द्रका प्रमुख थपलियाका अनुसार विभिन्न सेवा प्रदायकसँग छलफल भइरहेको छ । अहिलेसम्म नेपाल टेलिकमले मात्रै प्रस्ताव गरेको हो ।
नेपाल टेलिकमले उपलब्ध गराउन लागेको पाठशाला सीयूजी सिम हो । यो सेवामार्फत् विद्यार्थी र शिक्षकले सहुलियत दरमा भ्वाइस सेवा, पाँच जीबी डाटा र बल्क एसएमएस पाउने नेपाल टेलिकमले जनाएको छ ।
सिकाइमा सहजीकरणका लागि भ्याट लगायतका कर बाहेक ९९ रुपैयाँमा ‘पाठशाला सीयूजी सिम’ उपलब्ध गराउने टेलिकमले निर्णय गरेको थपलियाले बताउनुभयो । कर र भ्याटसहित भने सीयूजी सिम लिनका लागि १ सय २५ देखि १ सय ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
प्रतिकृया दिनुहोस्