कांग्रेसमा बढ्दो विवाद : देउवाविरुद शशांकलाई भिडाउँदै पौडेल पक्ष
काठमाडौं :- महाधिवेशन तयारीमा जुटेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्व चर्किँदो छ।
केन्द्रीय समितिमा छलफल नगरी सभापति शेरबहादुर देउवाले विभाग गठन, सदस्यता वितरण लगायत काम गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाई गलाउन विभिन्न कार्यक्रम नै तय गरिसकेको छ। पहिलो चरणमा विरोध पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। पौडेल पक्षले केन्द्रीय सदस्यहरु गुरूराज घिमिरे, बद्री पाण्डेलगायतका समितिले कार्यक्रम तय गरेको हो। ‘केन्द्रीय समितिको बैठक १९ गते बस्दै छ। त्यो बेलासम्म विवाद मिलाऊँ भनेका हौँ,’ गुरुराज घिमिरेले भने, ‘१९ गतेसम्म पनि सभापतिज्यूले विवाद मिलाउनु भएन भने अरु वैधानिक दबाब र चरणबद्ध विरोधका कार्यक्रम अगाडि बढाउँछौँ।’ गत शनिबार पौडेल पक्षको गुट भेला भएको थियो।
उनले सभापतिले सदस्यता वितरणको कामलगायत अन्य विधानविपरीत काम गरे त्यसको जवाफ महामन्त्री डाक्टर शशांक कोइरालामार्फत दिने तयारी पौडेल पक्षको छ। ‘सभापतिज्यू यसरी नै अटेर गरेर, पेलेर आफू बलियो हुने, पार्टी सक्ने गरी गए हामी वैधानिक विरोध र दबाबका साथ अघि बढ्छौँ,’ घिमिरेले भने, ‘महामन्त्रीले चाहनुभयो भने क्रियाशील सदस्यता जति पनि बाँड्न पाउनुहुन्छ। त्यो अधिकार विधानले नै व्यवस्था गरेको छ। जसरी केन्द्रीय समितिको निर्णयविपरीत अहिले सभापतिज्यूले सदस्यता बाँडिरहनु भएको छ। त्यसरी नै महामन्त्रीले पनि बाँड्नुहुन्छ।’ रसुवा, सर्लाही, कैलाली, डडेल्धुरामा सभापति देउवाले आफूखुसी सदस्यता वितरण गरेको पौडेल पक्षको आरोप छ। देउवाले वितरण गरेकै जिल्लामा महामन्त्री मार्फत पौडेल पक्षले पनि सदस्यता वितरणको काम गर्ने चेतावनी दिएको छ।
कांग्रेसको विधानमा सभापति र महामन्त्रीलाई व्यक्तिगत रुपमा सदस्यता वितरण गर्ने अधिकार छ। ‘सभापति र महामन्त्रीलाई सदस्यता वितरणको लागि अधिकार छ,’ उनले भने, ‘अर्काे पार्टीबाट आएको व्यक्तिलाई सिधै सदस्यताको अधिकार भने पार्टीको केन्द्रीय समितिले निर्णय गरेर मात्रै दिन सकिने व्यवस्था छ। अहिले सभापतिज्यूले नयाँ मान्छे भित्र्याउने र मनलाग्दी सदस्यता वितरणको जिम्मा दिने गरेकोले हामीले यसको विरोध गरेका हौँ।’
पौडेल पक्षले देउवाले गरेको निर्णयहरु कार्यान्वयन नगर्न महामन्त्री मार्फत नै जिल्ला सभापतिहरूको नाममा पत्र काट्ने तयारी पनि गर्दैछन्। यसपाली पौडेल पक्षबाट देउवाविरुद्ध महामन्त्री कोइराला भिड्दैछन्। शशांकनिकट नेता भन्छन्, ‘१४ औँ महाधिवेशनमा पनि देउवालाई हराउने नेता शशांक दाइ मात्रै हो। यसपाली देउवाले विधान मिचेर जे जे काम गरेका छन्। त्यसलाई सच्याउन उहाँ (शशांक) भिड्नुहुनेछ।
उहाँ देउवाले जसरी विधान मिचेर होइन, विधान अनुसार अघि बढ्नुहुन्छ।’thahakhabar
प्रतिकृया दिनुहोस्