सम्झनाको बलात्कारपछि हत्या गर्ने राजेन्द्रले यसअघि पनि बालिका बलात्कार गरेका थिए
काठमाडौं- बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले यसअघि पनि बलात्कार गरेको पाइएको छ।
खिकालाकै १८ वर्षीय बोहराले एक महिना अघि मस्टाकै १४ वर्षीया बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ। त्यसबेला भने उक्त घटना स्थानीयको रोहबरमै मिलापत्र गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए।
गत साउन २९ गते बोहराले पानी घट्टामा आएकी १४ वर्षीया बालिका बलात्कार गरेका थिए। उक्त घटना गाउँमा फैलिएपछि साउन ३१ गते नै स्थानीयको रोहबरमा मिलापत्र गरेको पाइएको छ।
मिलापत्रमा ती बालिकाको पेटमा बच्चा भएको अवस्थामा भने राजेन्द्रले नै स्वीकार गर्नेसमेत उल्लेख गरिएको पाइएको छ।
त्यस्तै बोहराले बालिकालाई कुटपिट समेत गरेको पाइएको छ। मिलापत्रको कागजमा अबदेखि बालिका कुटपिट नगर्ने उल्लेख गरेको देखिन्छ।
अहिले भने १२ वर्षीया सम्झना विकको बलात्कार र हत्या आरोपमा बोहरा पक्राउ परेपछि पीडित पक्षले यस घटनाबारे प्रहरीलाई जानकारी गएका हुन्। त्यसबेला बलात्कारको घटना मिलापत्र गराउने विरुद्ध समेत अनुसन्धान सुरु गरिएको प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहले जानकारी दिए ।nepallive
प्रतिकृया दिनुहोस्