September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

अब दुई घण्टामा पिसिआरको नतिजा

काठमाडौँ – चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ ।

कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन् । कूल सङ्ख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो ।

सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् ।

उनका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले रु चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए ।

नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उनको भनाइ छ । सरकारको निजी क्षेत्र प्रतिको धारणा सकारात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने उनले जानकारी दिए ।

कलेजले हाल रु दुई हजारमात्र लिएर पिसिआर परीक्षण गर्दै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको